भर्खरै

बीस वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जामन्त्रीको सपना

  • प्रकाशित मिति : शुक्र, माघ २३, २०७७
  • - रासस
title

पर्वत, माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताएका छन् । बिहीबार कुश्मा–दाना प्रशारण लाइन उद्घाटनका क्रममा उनले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताए ।
 
रायमाझीले विसं २०७२ मा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हुँदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्ने गरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको बताए । उनले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार टेक अर पे को नीतिअनुसार अघि बढेको बताए । उनले व्यवसायीले तोकिएको समयभित्र योजना सम्पन्न नगरे जरिवना गर्ने र समयभित्रै सम्पन्न गरे विद्युत् खरीद गरिदिने नीति बनाएर सरकार अघि बढेको बताए ।
 
 
अर्को प्रसङ्गमा रायमाझीले बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएर सडकमा जानु विडम्वनापूर्ण भएको बताउँदै मुलुकको हित र रक्षाका लागि ताजा जनादेशमार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।
 
नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा–दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराएका थिए । विसं २०७३ जेठ १७ गते शुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ । आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो । 
 

प्रतिक्रिया