वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको दुष्प्रचार गरी ठगी गर्ने चार लाख रकम सहित चार पक्राउ

  • प्रकाशित मिति : मंगल, माघ २०, २०७७
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नाममा दुष्प्रचार गरी ठगी गर्ने चार जना पक्राउ परेका छन् । 
 
प्रवद्र्धन केन्द्रसँग समन्वय,सहकार्य र साझेदारीमा काम गरेको झुटो दुष्प्रचार गरी सोलार र सुधारिएको चुलो जडान गरिदिने भन्दै जाजरकोट जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई चार लाख रकम सहित प्रहरीले पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भएका २६ वर्षीय यज्ञप्रसाद रेग्मी र ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल त्यस्तै जाजरकोट बारेकोट–१ रामीडाँडा निवासी ४० वर्षीय हरिचन्द्र बस्नेत र ३३ वर्षीय मानबहादुर महतारा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार पक्राउ परेका ती व्यक्तिहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारिएको छ । हाल यस विषयमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 
 
ती व्यक्तिहरुले जाजरकोटको नलगाडका १३ वटै वडाबाट र बारेकोटका अधिकांश वडाबाट सङ्कलन गरिएको पाइएको छ । एउटा वडाबाट रु छ लाखसम्म सङ्कलन गरेको स्थानीयवासीको भनाइ छ ।
पालिकाको अनुमतिमा ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणको जिम्मा दिएको थियो । वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य ऊर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने भन्दै रकम संकलन गरेको स्थानीयहरुले बताएका छन् ।  
 
प्रत्येक घरधुरीबाट रु तीन हजार ७५० सङ्कलन गरेका थिए । सोलार र चुलोको मूल्य रु २५ हजार पर्ने भए पनि रु २१ हजार २५० वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै  झुक्याएको बताइएको छ ।
रकम संकलन गरी फाराम भरेको ४५ दिनभित्र सामान उपलब्ध गराउने उल्लेख गर्दै शंकास्पद भरपाई गरेपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो । 
नगरपालिकाले सत्य तथ्य नबुझी अनुमति दिएकोले आफूहरु ठगीमा परेको स्थानीयवासीहरुको गुनासो छ ।
 
वैकल्पिक ऊर्जाको नाम जोडेर रकम सङ्कलन गरिरहेको जानकारी पाएपछि संस्थाले केन्द्रले आइतबार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको जानकारी दिइएको छ । 
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अनाधिकृत रुपमा संस्थाको दुष्प्रचार गरी रकम संकलन गर्ने संस्थासँग सजग रहन आग्रह गरेका छन् । उनले हामीसँगको कुराकानीमा भने यस विषयमा थप अनुसन्धान कार्य भईरहेकोले उनीहरुले कति रकम संकलन गरेको छ भन्ने विवरण आइ नसकेको बताए । 
 
संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा “ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनधिकृतरूपमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्य रहेको दुष्प्रयास गर्दै जाजरकोटलगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य ऊर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम सङ्कलन गरेको जानकारी प्राप्त भएकाले उक्त संस्थासँग यस वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको उल्लेख गरिएको छ ।”

प्रतिक्रिया