भर्खरै

कामपाले १७५० आधुनिक बत्ती जडान गदै

  • प्रकाशित मिति : बिही, माघ १, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । काडमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रम अन्तर्गत काठमाडौंका मुख्य सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने भएको छ । 
 
करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) करिब ६० किलोमिटर सडक क्षेत्रमा जडान गरिने भएको हो । 
 
गत मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढेको महानगरले जनाएको छ । आधुनिक बत्ती जडान गर्ने लगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाई अन्तिम चरणमा पुगेको छ ।
यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ ।
 
उपत्यकामा जडान गर्ने बत्तीहरुमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने छ । औपचारिकरूपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।
 
महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बताए ।
 
प्रमुख थापाका अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरबाट महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिने छ । 
 
पुतली सडकबाट बालुवाटारसम्म र त्रिभुवन विमानस्थलबाट हायात होटलसम्मको सडकखण्ड पनि पहिलो चरणमा समेटिएको छ । यसका लागि पहिलो चरणमा करिब रु ११ करोड  लागत लाग्ने अनुमान गरिएको छ ।
 
चालु आवमा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ । यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजन हुनेछ । यस क्रममा नयाँ पोल थप्नका लागि स्थानको स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्नेछ ।

प्रतिक्रिया