उज्यालो काठमाडौँः ६० किमी सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा

  • प्रकाशित मिति : आईत, पौष २६, २०७७
  • - रासस
title

काठमाडौं २६ पुस । काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रम अन्तर्गत करीब ६० किमी सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।
 
करीब ८० स्थानमा उच्चमात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायत केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्ति सुरक्षा, सामाजिक सुरक्षालगायत सेवासुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्यमुख्य सडकमा करीब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको छ ।
 
महानगरपालिका क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । औपचारिकरुपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६०  र प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । 
 
कार्यपालिकाको शुक्रबार सम्पन्न ५५ औँ बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत मङ्सिर २५ गते कामपा, प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भइएसँगै कापपाले  प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।  महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’ अन्तर्गत आधुनिक सडक बत्ती जडान अघि बढाइएको हो । 
 
शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ । पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हयात होटलसम्मको सडक खण्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करीब ६० किलोमिटर सडक खण्डमा करीब एक हजार ७५०  बत्ती जडान गर्ने तयारी भएको छ । यसका लागि पहिलो चरणमा करीब रु ११ करोड लागत हुनेछ । 
 
चालू आवमा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ । यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजन हुनेछ । सो क्रममा नयाँ खम्बा थप्नका लागि स्थानको स्वीकृति दिने तथा नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायत संरचनाको निर्माण गर्ने काम विभागले गर्नेछ । 

प्रतिक्रिया