भर्खरै

सिनर्जी पावर कम्पनीले नयाँ जलविद्युतमा लगानी गर्ने

  • प्रकाशित मिति : बुध, पौष २२, २०७७
  • - रासस
title

काठमाडौं २२ पुस । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।  कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो । 
 
सो आयोजनामा कम्पनीले स्वपूँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए । 
 
कम्पनीले भर्चुअल माध्यमबाट एकैपटक तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ को साधारणसभा सम्पन्न गरेको हो । सभाले लाभांशसहितका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको चार दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद गरी कूल पाँच प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । 
 
सो प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो । कम्पनीले आइपिओ निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो । यसैगरी सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ ।
 
शेयर धनीलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उद्देश्यले शेयरधनीको मागबमोजिम नै व्यवसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष थापा बताए । उनले आगामी वर्षमा लाभांश दर बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।  कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया