भर्खरै

सोलुले ४ करोडको बिजुली निकाल्यो तर व्यावसायिक उत्पादनको मिति तोकिएन

  • प्रकाशित मिति : Thu-09-Apr-2020
  • - Admin
title

 
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोलुखुम्बुमा निर्माण गरेको साढे २३ मेगावाटको सोलु जलविद्युत आयोजनाबाट करिब ४ करोड रुपैयाँ बराबरको विद्युत उत्पादन भएको छ । यो पछिल्लो एक महिनाको उत्पादन हो ।
 
फागुन अन्तिमसम्म आयोजनाको परीक्षण उत्पादन पूरा भएको थियो । १५ दिन परीक्षण उत्पादनपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले अनुगमन गरी व्यावसायिक उत्पादनको मिति तय गरिन्छ । तर, प्राधिकरणले अहिलेसम्म अनुगमन गरेको छैन ।
 
फागुनमै परीक्षण उत्पादन पूरा भए पनि प्राधिकरणका इन्जिनियरहरू अनुगमनका लागि जाने तयारी भइरहँदा सरकारले लकडाउनको घोषणा गर्यो । यही कारण व्यावसायिक उत्पादनको मिति नतोकिएको कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए ।
 
‘प्राधिकरणले बैठक राख्ने भनिरहेको थियो तर एक्कासी लकडाउन भयो,’ उनले भने, ‘लकडाउन खुलेलगत्तै बैठक बसेर व्यावसायिक उत्पादनको मिति तोकिनेछ ।’ व्यावसायिक उत्पादनको मिति तोकिएदेखि बल्ल कम्पनीले विद्युत बेचेको पैसा पाउँछ ।
 
लकडाउन खुलेपछि परीक्षण उत्पादन सकिएदेखि नै व्यावसायिकको मिति तोकिन सक्ने हुँदा यसमा ठूलो समस्या नरहेको राजभण्डारीले बताए । उनका अनुसार अहिले आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । के–कति उत्पादन भइरहेको छ भन्ने मिटरमा देखिने हुँदा ठूलो समस्या देखिएको छैन ।
 
उत्पादित विद्युत विद्युतगृहदेखि १३२ केभी प्रसारण लाइनबाट २।५ किलोमिटर टाढा ३३ केभी तिन्ला सबस्टेसनमा जोडिएको छ । त्यहाँबाट करिब १ सय ४० किलोमिटर ३३ केभी प्रसारण लाइन हुँदै लाहान सबस्टेसन पुर्याइएको छ ।
 
प्राधिकरणले १३२ केभी सोलु कोरिडोर समयमा निर्माण नगर्दा बाध्यताले ३३ केभीमा विद्युत जोड्नु परेको छ । ३३ केभी लाइन लामो हुँदा दिनमा १०–१५ पटक नै ट्रिपिङ हुने गरेको राजभण्डारीले जानकारी दिए । यही कारण व्यावसायिक उत्पादन सुरु नहुँदै मेसिन बिग्रने चिन्ता बढेको उनको भनाइ छ ।
 
साढे २३ मेगावाटको आयोजनाबाट हाल ५ देखि साढे ६ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको छ । १३२ केभीमा जोड्न पाएको भए ७ वा त्यो भन्दा बढी विद्युत उत्पादन हुन सक्थ्यो । सोलु कोरिडोरमा आधा दर्जन आयोजना निर्माण भइरहेका छन् तर प्रसारण लाइनको समस्याका कारण धेरैले उत्पादन अवधि सार्ने तयारी गरिरहेका छन् । यति हुँदा पनि प्रसारण लाइन निर्माणमा प्राधिकरण संवेदनशील देखिँदैन ।
स्रोत ः ऊर्जा खबर

प्रतिक्रिया