भर्खरै

बागलुङको खोलाखर्कको ३६ घरमा बल्यो बिजुली बत्ती, बिजुली पुगेपछि स्थानीयवासी खुसी

  • प्रकाशित मिति : Thu-16-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title

बाग्लुङ,माघ । बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा विद्युत् सेवा पुगेको छ ।
 
धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि स्थानीयवासीहरु हर्षित भएका छन् । 
 
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशालीले बरेङ गाउँपालिकाका–१ मा केन्द्रीय प्रसारण लाइन जोडिएको र विद्युतीकरण सम्पन्न भएको जानकारी दिए । गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले भने, “केन्द्रीय विद्युत् आएसँगै यहाँका जनताले ठूलो राहत महसुस गरेका छन् ।”
 
अहिले बरेङ गाउँपालिका अन्य वडामा समेत धमाधम विद्युतीकरण जारी रहेको छ  । पाँच वडामध्ये २ र ५ नं वडाका सबै घरमा केन्द्रीय विद्युत् पुगेकोे छ । आगामी वर्षसम्म  गाउँपालिकाका सबै वडामा विद्युतीकरण गर्ने जनाइएको छ ।   रु १८ लाख ५० हजारको लागतमा २५ किलोवाट क्षमताको ट्रान्सफर्मरबाट ती ३६ घरमा विद्युतीकरण गरिएको र बरेङसहित ताराखोला, ढोरपाटन र बडिगाड गाउँपालिकामा धमाधम विद्युतीकरणको काम चलिरहेको प्राधिकरणले जनाएको छ ।   
 
केन्द्रका प्रमुख  गोशलीका अनुसार  जिल्लाकोे करीब ४५ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत्को पहुँच पुगेको छ । 
आगामी वर्षभित्र २५ देखि २० प्रतिशत थप गर्ने गरी विद्युतीकरणको काम भइरहेको छ । निसीखोला र तमानखोलामा केन्द्रीय विद्युत् विस्तार हुनसकेको छैन ।

प्रतिक्रिया