भर्खरै

मिस्ट्रीखोलाको विद्युत् उत्पादन एक महिनाभित्र

  • प्रकाशित मिति : सोम, पौष ६, २०७७
  • - रासस
title
पुस ६ काठमाडौं । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ ।  
 
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत गृहमा उपकरण जडान सकिएको छ । निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए । “संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ”, उनले भने “बनाएका र जोडिएका संरचना ठीक भए नभएको परीक्षणको चरणमा छौँ ।” बाँधको यसअघिनै परीक्षण भइसकेको छ । सुरुङ, क्यानल र पेनस्टकको परीक्षणका लागि कार्यतालिका बनाइएको छ । त्यसपछि विद्युत गृहको परीक्षण गरिने इञ्जिनीयर खड्काले बताए । 
 
सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ २०७६ वैशाखमा जोडिएको थियो । नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरिएको छ । नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । विद्युतगृह नजिकै स्विचार्ड निर्माण भएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भएको छ । एक सय १५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
 
आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चूडामणि निरौलाले बताए । “कार्यतालिका अनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परीक्षण उत्पादन हुन्छ”, उनले भने “पूर्वाधार निर्माण सकेर परीक्षणको चरणमा छौँ ।” रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले रु एक अर्ब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् । 
 
यसैगरी नबील बैंकले रु एक अर्ब, लक्ष्मी बैंकले रु ४० करोड, सिद्धार्थ बैंकले रु ३० करोड र एस डेभलभमेन्ट बैंकले रु ३० करोड ऋण लगानी गरेका छन् । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सात वटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ । साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जेनेरेसन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो । 
 
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । दाना र खुर्कोटमा सवस्टेशनका साथै प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।
 
टावर ठड्याउने, तार तान्ने र सवस्टेशनको उपकरण जडान सकिएको छ । प्रसारण लाइन र सवस्टेशनको पनि परीक्षण शुरु गर्न लागिएको छ । विद्युत् विकास विभागका अनुसार म्याग्दी जिल्लाभर ७००.८३ मेगावाट क्षमताका १७ जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । तीन सय ५३.८ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । 
 
तीन सय ४६.०३ मेगावाट क्षमताका छ वटा जलविद्युत् आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरेको छ । त्रियासी दशमलव पाँच मेगावाट क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago