भर्खरै

नेपाल–भारतको दुई दिने ऊर्जा बैठक सकियो, बैठकमा गोरखपुर–बुटवल प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति

  • प्रकाशित मिति : आईत, मंसिर २८, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
काठमाडौं, मंसिर  । नेपाल र भारत सरकारबीच ऊर्जासम्बन्धी संयुक्त कार्यदलको दुई दिने बैठक सम्पन्न भएको छ ।
 
गत बिहिबार र शुक्रबार दुई दिन भएको नेपाल–भारत ऊर्जासचिवस्तरीय संयुक्त सञ्चालक समितिको बैठक सम्पन्न भएको हो ।
 
उक्त बैठकमा ४०० केभी गोरखपुर–बुटवल अन्तरदेशीय प्रसारणको निर्माण अघि बढाउने सहमति भएको छ । बैठकमा प्रसारणलाइनको वित्तीय मोडालिटिबारेमा सहमति भइसकेकोले अब निर्माण अघि बढाइने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 
नेपालका ऊर्जासचिव दिनेश घिमिरे र भारतका ऊर्जासचिव संजीव नन्दन सहायले आ–आफ्नो  टोलीको अध्यक्षता गरेको भर्चुअल बैठकले ऊर्जा क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरेर काम गरिरहेको जनाएको छ । बैठकमा गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको निष्कर्ष निकाल्दै दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको बताएको छ । 
 
त्यस्तै संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण उल्लेख्य रुपमा अघि
बढेकोले दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटिलाई छिट्टै अन्तिम रुप दिने सहमति भएको छ । 
दुई देशबीच ऊर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउने, एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत प्रसारण लाइनको निर्माण, नेपालको जलविद्युत तथा सौर्य ऊर्जा परियोजनामा लगानी लगायतका सहमति दोहोर्याइएको छ ।  
 
यो समिति दुई देशका सरकारबीच ऊर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो । बैठकमा ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरिएको जनाउँदै भारतीय पक्षले नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल हुनुका साथै अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरिएको जानकारी दिइएको छ । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रासमेत सहभागी बैठकमा दुवै क्षेत्रका ऊर्जासम्वद्ध निकायका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया