भर्खरै

रोकिएको मनोहरा करिडोर पुनःनिर्माण शुरू, रोकिएका सबै विकास निर्माणका काम अब शुरु स्थानियको विश्वास

  • प्रकाशित मिति : आईत, मंसिर २८, २०७७
  • - रासस
title

मंसिर २८ काठमाडौं । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण शुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए । 
 
सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि शुरु गर्नुभएको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण शुरु भएलगत्तै काम रोकिए पनि अहिले उनकै पहलमा चार दिनयता पुनः मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम शुरु भएको हो ।
 
सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए ।
 
थापाका अनुसार भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हुँदा सांसद बस्नेतले शुरु गराएको करिडोर निर्माण उनको सरुवा भएसँगै रोकिए पनि अहिले आउनुभएका नयाँ प्रजिअ भट्टराईले पुनः शुरु गराउन प्रशासनिक रूपमा अग्रसरता देखाएपछि काम अगाडि बढेको हो । यस अघिको प्रजिअ हुमकला पाण्डेले विभिन्न विवादका कारण रोकिएका विकासका ठूला आयोजना निर्माणमा चासो नदिँदा एक वर्ष पछाडि परेको विकास पुनः शुरु भएको छ ।
 
सांसद बस्नेत, प्रजिअ भट्टराई, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरथिमि–१ र २ का वडाध्यक्ष, काठमाडौँ–३२ का वडाध्यक्ष नवराज पराजुली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्माण व्यवसायी सहित सरोकारवालाको छलफलबाट आएका बाधा हटाउँदै विकासका कामलाई तीव्रता दिने सहमतिसँगै करिडोर निर्माण पुनः सञ्चालन भएको हो ।
 
छलफलमा भएको निर्णयानुसार विसं २०२१ को नक्सामा जहाँ खोला बगेको छ, त्यहीँबाट खोला बगाएर करिडोर निर्माण सञ्चालन भएको हो । यसअघि पञ्चायतकालमा तत्कालीन भूमिसुधारमन्त्री नानीमैया हुँदा विसं २०२१ को नापीमा खोला बगेको ४५ रोपनी क्षेत्रफल व्यक्तिको नाममा दर्ता गरी पटक–पटक किनबेच भई हाल चार जनाको नाममा रहेको उक्त ठाउँमा साविक नक्सा अनुसार नै खोलाको बहाव पठाइएको छ ।
 
नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतले भने, “रोकिएको करिडोर निर्माण शुरु भएको चार दिनमा मनोहरा नदी उकास गरी व्यक्तिले कब्जा गरेको ४५ रोपनी जग्गामा खोला बगाइयो, अब २० दिनमा अरनिको राजमार्ग जडीबुटी पुलबाट पेप्सीकोला मनोहरा पुलसम्म सडक खोल्ने लक्ष्यका साथ मनोहरा करिडोरको काम तीव्रगतिमा गराइरहेका छौँ ।”
 
विसं २०६३ मा नै स्वीकृत भएको मनोहरा जग्गा एकीकरण आयोजना अन्तर्गत नै करिडोर समेत निर्माण गर्ने तय भए पनि शुरु हुन नसक्दा बस्नेतको पहलमा करिडोर निर्माण शुरु भएको हो । मनोहरा करिडोरमा ३० मिटर खोलाको बहाव रहने, ११ मिटर सडक बन्ने र नौ मिटरको फुटपाथसहितको हरियाली उद्यान रहने गरी निर्माण शुरु भएको बताउँदै तीन साताभित्र करिडोरको ट्र्याक खोलेर सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको सांसद बस्नेतले जानकारी दिए । करिडोर निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्ने लक्ष्यका साथ २४सै घण्टा १५ वटा डोजर लगाएर काम भइरहेको छ ।
 
उनले भने, “जडीबुटीबाट आँखा अस्पताल हुँदै भक्तपुर, काठमाडौँ र ललितपुर जोड्ने हनुमन्तेखोलाको पुलसम्म करिडोर निर्माण सम्पन्न भइसकेको छ, अब पेप्सीकोला पुलबाट जडीबुटी पुलसम्मको मनोहरा करिडोर निर्माण सम्पन्न भएसँगै जडीबुटी–कोटेश्वरको जाम घट्छ भन्ने विश्वास लिएका छौँ ।”
 
यो करिडोर निर्माण सम्पन्नसँगै प्रहरीको समन्वयमा भक्तपुरबाट ललितपुरतर्फ जाने सवारी साधनलाई लोकन्थली जडीबुटी पुलबाट आँखा अस्पताल हुँदै बालकुमारी पठाउने र गौशाला, चावहिल जाने सवारी साधनलाई मनोहरा करिडोरबाट पठाउने गरी व्यवस्थापन गर्दा सडकजाम कम हुने उनको भनाइ छ । भक्तपुरका ठूला आयोजना अन्तर्गत रहेको हनुमन्ते कोरिडोर, पेप्सिकोला–सल्लाघारी सडक, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, स्मार्ट सिटी, रङ्गशाला लगायतका रोकिएका विकास निर्माणका काम अब शुरु हुने यहाँका बासिन्दाले विश्वास लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago