भर्खरै

अपि पावरको १६ आंै र १७ औं साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित

  • प्रकाशित मिति : बुध, मंसिर १०, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, मंसिर । दार्चुलामा आयोजना निर्माण गरिरहेको अपि पावर कम्पनीको १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड–१९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर सोमबार एकै पटक दुई साधारणसभा सम्पन्न गरेको हो ।
उक्त साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५÷०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६÷०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
 
सभाले नयाँ चुक्तापूँजीको १ बराबर ०.८५६६ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।
अपि पावरले भर्खरै हकप्रद सेयर निश्कासन गरेर चुक्ता पूँजी वृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६ कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कम्पनीले ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको अपर नौगड गाड जलविद्युत आयोजना निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ । यस्तै, ४० मेगावाटको अपर चमेलिया निर्माण गरिरहेको छ । उता रौतहटको चन्निगाहपुरमा ४ मेगावाटको सोलार निर्माणाधीन छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग ती आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।
अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो ।
विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।
गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ । 
हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकम समेत गरेर कम्पनीको चुक्ता पूँजी १ अर्व ९२ करोड ९८ लाख पुग्ने छ ।

प्रतिक्रिया