डिप बोरिङमार्फत १०० भन्दा बढी घरपरिवारमा पानी, स्थानीयवासीको मुहारमा खुसी छायो

  • प्रकाशित मिति : सोम, कार्तिक २४, २०७७
  • - विद्युत संसार संवाददाता
title

इलाम, कात्तिक । वर्षौँ वर्र्षदेखि खानेपानीको चरम समस्या भोग्दै आएका इलाम नगरपालिकाले वडा नं ११ सोयाकका स्थानीयवासी अहिले घरघरमा पानी आएको छ । 
 
नेपाल सरकारको विशेष अनुदानमा बोरिङ प्रणालीमार्फत घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका हुन् । 
 
इलाम नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । खानेपानीको चरम समस्या भएकै कारण कति परिवार त्यस स्थानबाट  बसाई सरेका थिए ।  तर अहिले भने  घरघरमा पानी पाएपछि सोही ठाउँमा फर्किन थालेको नगरपालिकाले जनाएको छ । बसाईसराई गरी गएका स्थानीय नरेन्द्रप्रसाद आचार्य पनि पानी पाएपछि पुनः फर्किएर सोही ठाउँमा घर बनाएको बताए । 
 
 
अहिले नगरपालिकाले बोरिङ प्रणालीमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधान हुने र खानेपानीको सङ्कट टर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बर्सेनि पानीको मुहान सुक्न थालेसँगै स्थानीयवासीले गाउँ छाड्न थालेपछि नगरापालिकाले बोरिङ प्रणालीमार्फत स्थानीयवासीलाई पानी वितरण गरेको उनले बताए । 
पानी अभावले थलिएका स्थानीयवासीले हाल आवश्यकतानुसार पानी पाउने भएपछि राहत महसुस गरेका छन् । स्थानीय पवित्रा मगरले यसअघि एक पटक ल्याएको पानी आठ दिनसम्म प्रयोग गर्नुपरेको बताए । यो प्रविधि प्रयोग गरेर पानी निकालेपछि पानी अभावमा बस्ती सर्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख बस्नेतको भनाइ छ । 
 
 
बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको वडाध्यक्ष रविन एक्तेनले बताए । चौँसठ्ठी घर परिवारलाई लक्षित गरेर बनाइएको खानेपानी आयोजना हाल ८४ घर परिवारलाई वितरण गरिसकिएको छ । एक्तेनका अनुसार क्रमिकरूपमा घरधुरी अनुसार खानेपानीको लाइन विस्तार गर्दै लगिने छ । इलाम नगरपालिका र नेपाल सरकारको विशेष अनुदानमार्फत रु दुई करोड ४७ लाखको लागतमा सो आयोजना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भुजेलले जानकारी दिए । आयोजनामा
 
एक लाख लिटरको एउटा, ५० हजार र १० हजार लिटर क्षमताको एक÷एक वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको नगरपालिकाका इन्जीनियर दिपक गुरागाइँले बताए  । 

प्रतिक्रिया