भर्खरै

हुम्ला विमानस्थल पुनः कालोपत्र, १५ दिनभित्रमा काम सकिने

  • प्रकाशित मिति : आईत, कार्तिक १६, २०७७
  • - रासस
title

कात्तिक १६, काठमाडौ ।  हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । छ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट विमानस्थलमा झण्डै एक महिनादेखि काम जारी छ ।
 
एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको छ भने यी सबै क्षेत्रको कालोपत्र गरिने भएको हो । विमानस्थलको रनवे, एप्रोन अर्थात् जहाज पार्किङ, हेलिप्याडलगायतका सबै क्षेत्रमा कालोपत्र गरिने भएको छ ।
 
रनवेको करिब ४०० मिटर भागमा कालोपत्र कार्य सकिएको र बाँकी रहेको भाग १५ दिनभित्र गरिसक्ने विमानस्थलका इञ्जीनियर अजयकुमार गुप्ताले जानकारी दिए । इञ्जीनियर गुप्ताले भने, “विमानस्थलको रनवे क्षेत्रको भागमा कालोपत्र गर्ने कार्य सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ भागमा पनि गरिने भएको छ ।” विमानस्थललाई यसभन्दा पहिला नै कालोपत्र गरेको भए पनि रनवे केही भागमा कालोपत्र उप्किएका कारण पुनः दुई इञ्चको कालोपत्र गरिएको हो ।”
 
प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म हजाईजहाज उडान भर्ने भएका कारण १० देखि बेलुका छ बजेसम्म कामदारले कालोपत्र गर्ने काम धमाधम गरिरहेको उहाँले बताउनुभयो । निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामग्री तयारी अवस्थामा पारेपछि कामले गति लिएको हो । अलकत्राको काम गर्नका लागि तराईबाट कामदार ल्याएर विमानस्थलको पिचिङ गर्ने कार्य धमाधम भइरहेको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले बताउनुभयो । कामले दशैँ अवधिमा पनि निरन्तरता पाएको थियो ।
 
यसअघि नेपालगञ्जबाट हवाईजहाजमा अलकत्राका लागि आवश्यक सामग्री ढुवानी गरेर ल्याइएको र अन्य सामान स्थानीयरूपमै तयार गरिएको थियो । विमानस्थलकै एक छेउमा अलकत्रा बनाउने कार्य पनि बिहानैबाट हुने गरेको छ । विमानस्थल कालोपत्रका लागि रु नौ करोड ९७ लाख बराबरको लगानीमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया