भर्खरै

निर्माणाधिन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सकियो

  • प्रकाशित मिति : सोम, कार्तिक ३, २०७७
  • - विद्युत संसार संवाददाता
title

लमजुङ, कात्तिक । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
 
 पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको हो । 
 
 सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना रुपमा लिइएको छ  । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशासरणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए । 
 
आयोजनामा कूल रु आठ अर्ब ८० करोडको लगानी रहेको छ । अहिले आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ भने इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी रहेको सिग्देलले जनाएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ । 
 
 आयोजनाको विसं. २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ ।
 
आयोजनामा नविल बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ  । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा बिद्युत खरिद गर्ने  (पिपिए) सम्झौता भएको छ ।
यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् । 

प्रतिक्रिया