भर्खरै

वितरण प्रणालीको समस्या समाधान गरेर विद्युत आपूर्ति नियमित गर्न पुनको निर्देशन

  • प्रकाशित मिति : बिही, असोज ८, २०७७
  • - ऊर्जा खबर
title

 
असोज ०८ गते,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केही दिनदेखिको अविरल वर्षाका कारण समस्याग्रस्त वितरण प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । पुनले बिहीबार नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशकहरूलाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका छन् ।
 
पुनले कोइरालालाई पूर्ण अधिकार प्रयोग गरेर जथाभावी विद्युत लाइन काटिने समस्या समाधान गरेर वितरण प्रणाली सुधार गर्न अर्हाए । उनले ठूलो समस्या आइपरेमा आफुलाई खबर गर्नसमेत निर्देशन दिए ।
 
‘जनता हाम्रा ग्राहक हुन् । ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुहोस’, उनले भने, ‘बिना सूचना विद्युत लाइन काटिँदा ग्राहकबाट आउने गुनासोलाई पनि सकारात्मक रुपमा लिएर सम्बोधन गर्नुहोस् ।’ पुनले प्राधिकरण कार्यकारी निर्देशकविहिन भएको विषयसँग जोडेर सरकार, मन्त्रालय र प्राधिकरणमाथि प्रश्न उठिरहेकाले त्यसको चित्त बुझ्दो जवाफ काम गरेर दिनुपर्ने बताए ।
 
उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्न सक्ने हुँदा गम्भिर हुनुपर्नेमा जोड दिए ।
 
आफूले कुलमान घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्री परिषदमा प्रस्ताव लगेको बताउँदै मन्त्री पुनले त्यसबारे छलफल भइरहेको बताए । उनले अहिले प्राधिकरणमा कार्यकारी निर्देशकको पद रिक्त रहे पनि नेतृत्वविहिन भएको महसुल नगरी काम गर्न कोइराला र उपकार्यकारी निर्देशकहरूलाई निर्देशन दिए ।
 
‘जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ । म निमित्त हुँ भन्ने सोच नराख्नुस्, तपाईं अर्को व्यवस्था नहओउञ्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ’, उनले कोइरालालाई भने ।
 
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत सेवा दिने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट पारे ।
 
मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत वितरण प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए ।
 
निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने बताए । प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या देखिएका ठाउँमा पुगेर मर्मत संभार गरी विद्युत आपूर्ति नियमित गरिरहेको उनले बताए ।
 
समस्याग्रस्त वितरण प्रणालीको सुधार गर्ने क्रममा तौलिहवामा काममा खटिएर फर्किएका वितरण केन्द्र प्रमुखसहित हाम्रा चार कर्मचारी र २ सर्वसाधारण चढेको गाडी खोलामा बग्दा दुखःद दुर्घटना भएको बताए ।
 
प्राधिकारण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षात, बाढी पहिरो, चट्याङ, रुख ढल्ने जस्ता कारणले पछिल्लो केही दिनयता प्रणालीमा समस्या आएको जानकारी दिए । ऊर्जाखबर
 
यो सुचनामा केके छन् त हेरौ र प्राविधिक तर्फ पढ्न चाहानेहरुले समयमानै जानकारी लिई मौकाको फाईदा लिनुहोला ।

प्रतिक्रिया