भूगिखोलाको बाढीले ११ लघु जलविद्युत आयोजनाको संरचना बगायो

  • प्रकाशित मिति : शुक्र, भदौ २६, २०७७
  • - ऊर्जा खबर
title

बागलुङ । बागलुङको भूजिखोलामा आएको भीषण बाढीले ११ लघु जलविद्युत आयोजनाको संरचना बगाएको छ । भदौ १७ गते राति जन धनको ठूलो क्षति हुने गरी आएको बाढीले सञ्चालनमा रहेका लघु जलविद्युत आयोजनाको संरचना बगाएको हो ।
 
बाढीले सञ्चालनमा रहेका भूजिखोला पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौ तथा नेपाने देउराली, रुद्रतालसहित ११ लघु जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । कुनै आयोजनाको मुहान त कतै पहुँच नहर बगाएको छ । केही आयोजनाको विद्युतगृह नै बगाएको छ । आयोजनाको संरचना बगाएपछि ढोरपाटन नगरपालिकाका बाढी पिडित स्थानीय एक सातादेखि अन्धकारमा बस्न बाध्य छन् ।
 
केन्द्रीय प्रणालीको विद्युत सेवा पुगिनसकेकाले भूजिखोला किनारमा निर्माण भएका लघु जलविद्युत आयोजनाको विद्युतबाट विद्युतीकरण गरिएको क्षेत्रको सेवा अवरुद्ध भएको छ । बाढीले संरचना नै बगाएपछि अन्धकारमा बस्नु पर्ने बाध्यताले पिडितको जीवन थप कष्टकर बनेको छ ।
 
सेवा अवरुद्ध हुँदा बाढी प्रभावित क्षेत्रको मोबाइल सेवा पनि अवरुद्ध छ । आयोजनाको उत्पादन बन्द भएपिछ एक सातादेखि अन्धकारमा बसिरहेको दुनेपधेराका घाईते बाढीपीडित छमेन्द्र पुनले बताए । ‘बाढीले घर बगायो । बारीमा त्रिपाल टाँगेर बसेको छु, ’उनले भने, ‘विद्युत सेवा नपाउँदा दैनिकी असहज भएको छ । मोबाइल चार्ज गर्न सकिएको छैन । आफन्तसँग सम्पर्क टुटेको छ ।’
 
उत्पादन बन्द हुँदा ढोरपाटनको बोबाङ गाउँ बाहेक द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको ९ नम्बर वडाका अध्यक्ष हरीबहादुर घर्तीले बताए । उनका अनुसार बाढीले बढी क्षतिग्रस्त वडा नम्बर ७ र ८ को विद्युत सेवा पनि अवरुद्ध छ ।
 
प्राकृतिक प्रकोपको चपेटामा परेको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारसम्ममात्रै नेपाल विद्युत प्राविधिकरणले विद्युत सेवा पुर्याउन लाइन विस्तार गरेको छ । लाइन विस्तार गरिएको क्षेत्रमा विद्युत सेवा चाँडै सुचारु गरिने प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए ।
 
उनका अनुसार बुर्तिङ बजारमा विद्युत सेवा सुचारु गरेपछि नगरपालिकाको अन्य वडासँगै तमानखोला र निसिखोला गाउँपालिकामा पनि प्राधिकरणले विद्युत सेवा विस्तार गर्ने योजना छ ।प्राधिकरणले पश्चिम क्षेत्रलाई लक्षित गरी बडिगाड गाउँपालिकाको खर्बाङ नजिकै सवस्टेसन पनि निर्माण गर्दैछ ।

प्रतिक्रिया