भर्खरै

हरिचौरमा विद्युत सबस्टेशन निर्माण

  • प्रकाशित मिति : आईत, भदौ १४, २०७७
  • - रासस
title

 
गलकोट,७ भदौ, सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युत्को केन्द्रीय प्रसारण लाइन  विस्तार थालिएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणले जिल्लाको गलकोट हरिचौरमा सबस्टेशन निर्माण गरेको छ ।
 
जिल्लामा धमाधम केन्द्रीय प्रसारण लाइनको पहुँच पु¥याउनका लागि सबस्टेशन निर्माण भएको  प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ । विसं २०७२ मा शुरु भएको तीन एमभिए क्षमताको सबस्टेसन निर्माण  हालै मात्रै सम्पन्न भएको  वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले जानकारी दिनुभयो । “बागलुङमा हालसम्म जम्मा ५५ प्रतिशत मात्रै केन्द्रीय विद्युत्को पहुँच पुगेको छ,” उहाँले भन्नुभयो, “आगामी एक वर्षमा ९० प्रतिशत भन्दा बढी विद्युतीकरण गर्ने योजनाका साथ काम गरिरहेका छौँ, जसमा जिल्लाको पश्चिम क्षेत्र मुख्य केन्दीत गरेका छाँै, यसका लागि सबस्टेशन निर्माणले सहजता प्रदान गर्नेछ । ” गलकोट हरिचौरमा निर्माण गरिएको सबस्टेशन बागलुङ बजार पछिको दोस्रो हो । जिल्लाका सबै गाउँमा विद्युतीकरण गर्न थप दुई सबस्टेसन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडी बढाइएको उहाँको भनाइ छ । 
 
प्राधिकरणले जग्गा खरिद गरेर राखेको लामो समयपछि मात्रै सबस्टेशन निर्माण गरिएको हो । रु चार करोडको लागतमा निर्माण भएको सबस्टेसन निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न भएको हो । गलकोट नगरपालिका–५ हरिचौरमा रहेको उक्त सबस्टेसन निर्माण पछि गलकोट, ताराखोला, बडिगाड तथा बुर्तिबाङमा विद्युत् विस्तार कार्य भइरहेको छ । गत असार मसान्तमा सकिएको सबस्टेसन निर्माण यही भदौ १ गतेदेखि चार्ज गर्न थालिएको हो । रामरेखा सबस्टेसनबाटै विद्युत् बाल्दै आएका गलकोटबासीलाई हरिचौरमा सबस्टेसन निर्माणपछि सहज भएको छ । “गलकोटमा केही समस्या आउँदा जिल्ला सदरमुकाम स्थित रामरेखा सबस्टेसनमा विद्युत् बन्द गर्नुपर्ने समस्या थियो” प्रमुख गोशलीले भन्नुभयो, “गलकोट र गलकोटदेखि अगाडि केही समस्या भएमा अब हरिचौर सबस्टेसनमै बन्द हुन्छ ।” 
 
विद्युत प्राधिकरणले हाल गलकोटको अन्तिम विन्दु रिघासम्म केन्द्रीय विद्युत्को उज्यालो पुगेको छ  । बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङसम्म बिद्युत्को प्रसारण लाइन तान्ने कार्य सम्पन्न भएको छ । यही भदौ महिना भित्रै बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङमा केन्द्रीय विद्युत्को पुहँुच पुग्नेछ ।  
 
बागलुङ वितरण केन्द्रले केन्द्रीय विद्युतको पुहँच पुग्न थाले पछि बुर्तिबाङ बजारमा रिघा मनेवासम्म बत्ती बलेको छ । विद्युतीकरण शुरु हुन लागेको पश्चिम बागलुङलाई लक्षित गरी  भदौ १ गतेदेखि विद्युत् महसुल तथा मिटर वितरण र रिडिङको काम अगाडि बढेको छ । यसका लागि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा प्राधिकरण बागलुङ वितरण केन्द्रअन्तर्गको महशुल सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
 
अहिले जिल्लाका बरेङ, ताराखोला, बडिगाड र बुर्तिवाङ्मा धमाधम विद्युतीकरण भइरहेको छ ।  आगामी असारसम्म केन्द्रीय विद्युत्को पहुँच नपुगेका तमानखोला र निसीखोला गाउँपालिकामा समेत विद्युत् पु¥याइने छ ।   अहिले पश्चिम बागलुङको गलकोटमा मात्रै पुगेको केन्द्रीय प्रसाारण लाइन सबस्टेसन निर्माण पछि अन्य पालिकामा पनि विस्तार गर्न सहज भएको छ । जिल्लाका अधिकांश क्षेत्रमा लघु जलविद्युत्बाट विद्युत् बाल्दै आएको जिल्लामा अबको एक÷दुई वर्ष भित्रै सबै घरमा केन्द्रीय पहुँच विस्तार गरिसक्ने प्राधिकरणको योजना छ । 
 
थप विद्युतीकरणका लागि कुश्मिशेरा र खरवाङमा नयाँ सब–स्टेशन आवश्यक भएका लागि प्रक्रिया अगाडि बढाइएको छ । यसका प्राधिकरणले जग्गा खरिद गरी नयाँ सबस्टेसन निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको छ । यसैगरी  खर्वाङमा सबस्टेसन निर्माणका लागि जग्गा खरिद  थालिएको छ ।  हाल रामरेखाको ११÷३३ केभी प्रसारण लाइनको सबस्टेसनलाई क्षमता थप गरी ११ एमभि क्षमताको बनाइएको छ । 

प्रतिक्रिया