भर्खरै

भारत जलविद्युत उत्पादन गर्ने विश्व सूचीको पाँचौं स्थानमा

  • प्रकाशित मिति : आईत, जेठ ३२, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
 विद्युत संसार ३२ जेठ,काठमाडौं । भारत जलविद्युत उत्पादन गर्ने विश्व सूचीको पाँचौं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय हाइड्रो पावर एशोसियसनले सार्वजनिक गरेको यो वर्षको सूचीमा भारत जापानलाई पछि पार्दै पाँचौं स्थानमा आइपुगेको हो ।
 
यसअघि पाँचौं स्थानमा रहेको जापान छैटौं स्थानमा पुगेको छ । एशोसियसनका अनुसार भारतले आफ्नो जलविद्युत जडित क्षमता ५० हजार ७ मेगावाट पुर्याएको छ । सन् २०३० सम्ममा २० हजार मेगावाट विद्युत थप गरी जडित क्षमता ७० हजार मेगावाट पुर्याउने भारतको लक्ष्य छ ।
 
छैटौं स्थानको जापानको जडित क्षमता ४९ हजार ९ सय १० मेगावाट छ । भारतको जडित क्षमता जापानभन्दा ९७ मेगावाट बढी छ ।
 
सबैभन्दा बढी जलविद्युत उत्पादन गर्ने देशको सूचीमा चीन यो वर्ष पनि पहिलो स्थानमा कायम छ । चीनको जलविद्युत जडित क्षमता ३ लाख ५६ हजार ४ सय मेगावाट छ । दोस्रो स्थानमा ब्राजिल यथावत छ । ब्राजिलको जलविद्युत जडित क्षमता १ लाख ९ हजार ६ सय मेगावाट छ ।
 
तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाको जलविद्युत जडित क्षमता १ लाख २ हजार ७ सय ५० मेगावाट छ । चौंथो स्थानमा क्यानेडा रहेको छ । क्यानेडाको जलविद्युत जडित क्षमता ८१ हजार ३ सय ९० मेगावाट छ ।
 
सातौं, आठौं, नवौं र दशौं नम्बरमा क्रमशः रुस, नर्वे, टर्की, इटाली रहेको एशोसियसनले जनाएको छ । एघारौं स्थानमा फ्रान्स, बाह्रौं स्थानमा स्पेन, तेह्रौं स्थानमा स्विजरल्याण्ड, चौधौं स्थानमा भियतनाम र पन्ध्रौं स्थानमा स्वीडेन छ ।
 
सोह्रौं, सत्रौं, अठारौं, उन्नाइसौं र बिसौं स्थानमा क्रमशः भेनेजुयला, अष्ट्रिया, इरान, म्याक्सिको र कोलिम्बिया छन् ।
 
यो वर्ष विश्वको जलविद्युत जडित क्षमता ४ हजार ३ सय ६ तेरावाट घन्टा पुगेको छ । सन् २०१९ मा विश्वमा १५ हजार ६ सय मेगावाट विद्युत उत्पादन थपिएको थियो । सबैभन्दा बढी ब्राजिलले ४ हजार ९ सय १९ मेगावाट उत्पादन थपेको छ ।
 
चीनले ४ हजार १ सय ७० मेगावाट उत्पादन थपेको छ । उत्पादन थप गर्ने सूचीमा नेपाल पनि एघारौं स्थानमा छ । नेपालले सन् २०१९ मा १ सय ७६ मेगावाट उत्पादन थप गरेको एशोसियसनको तथ्याङ्कले देखाएको छ । नेपालभन्दा भारत १ स्थान तल छ । भारतले १ सय ५४ मेगावाट उत्पादन गत वर्ष थपेको छ ।
 
 
एशोसियसनले सन् २०१९ मा विश्वभर निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएका जलविद्युत आयोजनाको उत्पादन जोडेर सन् २०२० को सूची सार्वजनिक गरेको छ ।
 
एशोसियसनले हरेक वर्ष जलविद्युत उत्पादन गर्ने विश्वका देशको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्ष सातौं पटक सूची सार्वजनिक गरिएको हो ।
ऊर्जा खबरको सहयोग र अन्तर्राष्ट्रिय हाइड्रो पावर एशोसियसनको तथ्यांक अनुसार ।https://www.hydropower.org/sites/default/files/publications-docs/2020_hydropower_status_report.pdf

प्रतिक्रिया