मोबाइल बिग्रिए साथीले घरैमा आएर बनाइदिने
- प्रकाशित मिति : बिही, जेठ २९, २०७७
- - विद्युत संसार संवाददाता
विद्युत संसार २९ जेठ,काठमाण्डौं ।केही महिनाअगाडि मात्र सञ्चालनमा आएको राइड सेयरिङ एप साथीले लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिका लागि नयाँ सेवा सञ्चालनमा ल्याएको छ । साथी एपमार्फत् अब ग्राहकहरूको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा सुरु गरिएको हो ।
कोरोना महामारीले गर्दा देशभर लकडाउनको अवस्था रहेको र संक्रमणबाट बच्नुपर्ने साथै सुरक्षित हुनुपर्ने अवस्थालाई मध्यनजर गरेर भर्खरै सञ्चालनमा आएको राइड सेयरिङ एप साथीले मोबाइल फोन पिकअप र ड्रप गर्ने नयाँ सेवा सुरु गरेको हो ।
विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टरसँगको सहकार्यमा वारेन्टी भएका तथा वारेन्टी नभएका मोबाइल फोनहरू घर तथा कार्यालयबाट लिएर मर्मत पश्चात् फेरि सोही स्थानमा पु¥याउने सेवा थप गरेको छ ।
नयाँ सेवा अन्तर्गत कुनै पनि ब्रान्डका मोबाइल फोन मर्मत गर्न गराउन अब सहज हुने भएको छ । यस एपलाई डाउनलोड गरी मोबाइल पिक एण्ड डेलिभरी सर्भिसमा क्लिक गरी विस्तृत जानकारी राखेर पिकअप सर्भिसका लागि अर्डर गर्न सकिनेछ । हालका लागि यो सेवा काठमाडौं उपत्यकाको रिङरोडभित्र मात्र उपलब्ध छ ।
मोबाइल फोनको मर्मतको शुल्क लाग्ने भएमा ग्राहकहरूबाट लिएर सम्बन्धित मर्मत तथा सर्भिस सेन्टरहरूमा भुक्तानी गर्ने व्यवस्था राखिएको छ भने त्यसबाहेक पिकअप तथा ड्रपको लागि न्यूनतम ३५ रुपैयाँबाट यो सेवा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका कार्यकारी अधिकृत विक्रान्त रेग्मीले कारोनाको महामारीले लकडाउनको अवस्था रहेको र मानिसहरूबीच संक्रमण फैलन सक्ने हुँदा मोबाइल प्रयोगकर्तालाई सुरक्षित बनाउन यो सेवा सुरु गरेको जानकारी दिए ।