भर्खरै

प्राधिकरणाको मोबाइल एप सञ्चालनमा, विद्युत् सम्बन्धी कारोबारमा थप सहज

  • प्रकाशित मिति : सोम, जेठ २६, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
 
 
विद्युत संसार, २६जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले  सोमबार देखि आफ्नो मोबाइल एप्लिकेसन (एप) सञ्चालनमा ल्याएको छ । सेवालाई छरितो, गुणस्तरीय र आधुनिक बनाउन एप प्रयोगमा ल्याइएको हो ।
 
ग्राहकले आजदेखि एप प्रयोग गरेर सम्बन्धित कार्यालय तथा शाखासमक्ष गुनासो वा समस्या राख्न सक्ने वितरण तथा ग्राहक सेवा निर्देशनालय कम्प्युटराइज बिलिङ महाशाखाका उपप्रबन्धक सजुन श्रेष्ठले बताए । उनका अनुसार प्राधिकरणको वेबसाइट वा गुगल प्लेस्टोरमा गएर एप डाउनलोड गर्न सकिन्छ । वेबसाइट खोलेपछि फोटो देखिने ठाउँको दाँहिनेतर्फ एनइए एन्ड्रोइड एप क्लिक गरेर आफ्नो मोबाइलमा डाउनलोड गर्न सकिनेछ ।
 
एपभित्र समाचार, अनलाइन पेमेनट सिस्टम, आवश्यकता ९रिक्वारमेन्ट०, बिल पेमेन्ट इन्क्वायरी, डिसिएस कन्ट्र्याक्ट, सेल्फ मिटर रिडिङ, नो लाइट र कम्प्लेन सेक्सन छन् । साथै, प्राधिकरणका अन्य गतिविधि, वार्षिक प्रतिवेदन, सूचना लगायत सामग्री वेबसायटमा जस्तै हेर्न सकिनेछ ।
 
प्राधिकरणले एममार्फत हरेक ग्राहकले आफ्नो घरको मिटर आफैंले रिडिङ गर्न सक्ने प्रणाली विकास गरेको छ । यसअघि नै अनलाइनबाट आफैंले घरको मिटर रिडिङ गर्ने प्रणाली ल्याइएको थियो । कोरोना भाइरसको त्रास र यसको रोकथामका लागि गरिएको लकडाउनका कारण कर्मचारीहरू मिटर रिडिङ गर्न घरघर जान नसक्ने स्थितिमा मोबाइल एपले महसुल भुक्तानीदेखि गुनासो सुनुवाईमा मत्त्वपूर्ण सहयोग गर्नेछ ।
 
प्राधिकरणले आफैंले मिटर रिडिङ गरेर अनलाइनबाट महसुल भुक्तानी गर्न र समयमै भुक्तानी गरेबापत छुट प्राप्त गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध पनि गरिएको छ । घरको मिटर रिडिङ गर्नुपूर्व ग्राहकले केही प्राविधिक प्रक्रिया भने पुर्याउनुपर्ने हुन्छ ।
 
अहिले ग्राहकको घरमा ३ प्रकारका मिटर जडान गरिएको छ । तिनमा दिइएबमोजिम मिटर रिडिङ गर्नुपर्ने। ‘पुराना ५ अंक भएको मिटरमा सुरुका ४ अंक राखेर भुक्तानी सम्बन्धी प्रक्रियामा जान सकिन्छ भने ६ अंकको मिटरमा सुरुका ५ अंक राख्नुपर्छ,’ श्रेष्ठले भने ।
 
यसैगरी, ग्राहकको घरमा जडित एभोन र डिनफ डिजिटल मिटर रिडिङ वा भुक्तानी प्रक्रिया अपनाउन यसैको नियम पालना गर्नुपर्छ । श्रेष्ठका अनुसार एभोन मिटरको हकमा कम्प्युटर स्क्रिनमा देखाउने बटनमा तीन पटक थिचेपछि देखिने अंक र डिनफको हकमा चार पटक थिचेपछि देखिने केडब्लूएच इन्ट्री गरेपछि भुक्तानी प्रक्रियामा जान सकिन्छ ।
 
अहिले प्राधिकरणका देशभर करिब ४० लाख ग्राहक छन् । यी मध्ये ४० प्रतिशत औद्योगिक र बाँकी गार्हस्थ तथा अन्य ग्राहक छन् । औद्योगिक क्षेत्र पूर्ण रूपमा बन्द भएकाले अनलाइन मिटर रिडिङ प्रणाली गार्हस्थ वा अन्य बर्गका लागि मात्र उपयोग हुने देखिन्छ । औद्योगिक क्षेत्रमा टिओडी (टाइम अफ डे) मिटर भएकाले पनि यो प्रणाली गार्हस्थ बर्गका लागि बढी प्रभावकारी हुनेछ ।
 
प्राधिकरणका देशभरका अधिकांश महसुल काउन्टर खुला रहेको बताइए पनि अपेक्षित रूपमा महसुल उठेको छैन । महसुल नउठेका कारण प्राधिकरणलाई दैनिक खर्च व्यवस्थापन गर्न समेत धौ धौ परेको देखिन्छ । कर्मचारीका लागि तलब, निजी क्षेत्रलाई विद्युत् किनेको भुक्तानी लगायत शीर्षकमा खर्च गर्न प्राधिकरणलाई मासिक करिब ६ अर्ब रुपैयाँ आवश्यक पर्छ ।
 
प्राधिकरणले ग्राहकसँग जोडिएका सम्पूर्ण गतिविधिलाई अनलाइन प्रणाली (डिजिटाइज) गर्ने तयारीका साथ काम गरिरहेको छ । दोस्रो चरणमा विद्युत्गृह, सबस्टेसन, लोडसेन्ट लगायत क्षेत्र पनि स्वचालित बनाउँदैछ ।उर्जा खबर

प्रतिक्रिया