नुवाकोट को सौर्य आयोजना बाट १.२५ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
- प्रकाशित मिति : बिही, जेठ २२, २०७७
- - विद्युत संसार संवाददाता
विद्युत संसार,जेठ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युत आयोजनाको १.२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । पहिलो चरणमा नुवाकोटमा निर्माणाधीन २५ मेगावाटमध्ये आयोजनाको १.२५ मेगावाट प्रणालीमा जोडिएको हो ।
कूल २५ मेगावाट जडित क्षमता भएको सौर्य परियोजनामध्ये बुधबारदेखि १.२५ मेगावाट बराबरको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । सौर्य आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत्गृहको सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको प्राधिकरणले जनाएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने जनाइएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रको स्वामित्वमा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने गरी व्यवस्था गरिएको छ । कूल २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।
आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको छ ।
“गत वैशाखभित्रै १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही समय ढिला हुन गयो”, उनले भने, “सोलारबाट उत्पादित विद्युत् जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढिरहेकामा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएको छ ।”
सरकारले दीर्घकालीनरूपमा आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने उद्देश्य राखी आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात कार्यान्वयनमा ल्याएको छ । सरकारको योजनाअनुसार प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेज ३० देखि ३५ प्रतिशत, अर्धजलाशययुक्त (पिकिङ रन अफ द रिभर) २५ देखि ३० प्रतिशत, नदी प्रवाही ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक स्रोतबाट पाँचदेखि १० प्रतिशत बराबरको अनुपात रहने व्यवस्था गरिएको छ ।
विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावरहाउस नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने गरी सौर्य प्रणाली जडान गरिएको छ । अहिले देवीघाट विद्युत्गृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादन गर्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
देवीघाट विद्युत्गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६÷३३ केभीको नयाँ सवस्टेशन पनि निर्माण भइरहेको छ । सवस्टेशन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास रघुवंशीले बताए । उनले सवस्टेशनका उपकरण निर्माणस्थलमा आउने क्रममा रहेको र सिभिल संरचनाको निर्माण धमाधम भइरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विसं २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गरिएको थियो । त्यतिबेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो । प्राधिकरणकै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानूनी प्रक्रिया पूरा गर्न धेरै समय लागेको थियो । ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गरेका कारण थप समय लागेको हो । त्यसलाई परामर्शदाताले पटक–पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाइदियो जसले गर्दा शुरुमा तय गरिएको निर्माण तालिका प्रभावित भएको आयोजना प्रमुख रघुवंशीको भनाइ छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरूपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा ग्यारेन्टेड (इनर्जी)आपूर्ति गर्नुपर्ने छ ।
प्लान्ट पूर्णरूपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । काठमाडौँ लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने प्राधिकरणको विश्वास छ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेजस्ता अर्धजलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत् केन्द्र विद्युत्को माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणले लिएको छ ।रासस