मन्त्री पुनद्वारा निजी ऊर्जा उत्पादकबाट प्राप्त चेक राहत कोषमा हस्तान्तरण

  • प्रकाशित मिति : सोम, जेठ ५, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार, जेठ, काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निजी उत्पादकबाट प्राप्त आर्थिक सहयोग रकमको चेक कोरोनाभाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् । पुनले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक प्रधानमन्त्री कार्यालयअन्तर्गतको राहत कोषमा हस्तान्तरण गरेका हुन् ।
 
उनले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई चेक हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । बिडारीलाई मन्त्रालयमा बोलाएर चेक दिइएको हो ।
 
निजी क्षेत्रबाट प्राप्त रकम कोरोना महामारी फैलिएका गाउँ तथा नगरपालिकामा पठाउन सकिने सुझाव पुनले दिए । जवाफमा सचिव बिडारीले आवश्यकता हेरेर कोषमा जम्मा भएको रकम खर्च गरिने बताए ।
 
निजी ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का पदाधिकारीले शुक्रबार मन्त्री पुनलाई भेटि उठेको राहत रकमको चेक हस्तान्तरण गरेका थिए । कोषमा अहिलेसम्म विभिन्न क्षेत्रबाट २ अर्ब २६ करोड रुपैयाँ जम्मा भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
ऊर्जा खबर

प्रतिक्रिया