भर्खरै

हेमबहादुर मल्ल सम्मान बाट कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित

  • प्रकाशित मिति : Sun-29-Dec-2019
  • - रुपा तुलाधर
title

 
काठमाण्डौ, पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई  हेमबहादुर मल्ल सम्मान बाट सम्मानित गरिएको छ ।   साल्ट ट्रेडिङ कर्पाेरेसन र नेपाल जनप्रशासन संघद्धारा शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मानित  गरिएको हो । 
 
साल्ट ट्रेडिङ कर्पाेरेसन र नेपाल जनप्रशासन संघद्धारा स्थापित हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङलाई र २०७४ डा. रुइतलाई प्रदान गरिएको हो । उनीहरुलाई उपराष्ट्रपति नन्द बहादुर पुनले जनही २ लाख रुपैयाँ नगद र ताम्र पत्र सहित सम्मानित गरेका थिए ।  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ्ग हटाउन उल्लेख्य भूमिका खेलेको तथा डा. रुइतलाई आँखा उपचारमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै  उक्त सम्मान गरिएको हो । 
करिब २५ वर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकका रुपमा काम गरी रोलमोडल प्रशासकका रुपमा चिनिएका मल्लको नाममा स्थापना गरिएको सम्मान २०६० सालदेखि प्रदान गरिदै आएको छ । 
 
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने बताए ।  सबैले आफ्नो कर्तव्य नैतिकता र जिम्मेवारी  पुरा गरेर काम गरे सम्मानित भइने बताए । 
 
 कार्यक्रममा घिसिङले सबैको साथ र सहयोगबाट नै  एक चरणको सफलता पाएको बताए । आफुले पाएको सम्मानले प्राधिकरणका १२ हजार कर्मचारीको हौसला बढाएको उनले  बताए । लोडसेडिङ्ग अन्त्यले जनतामा खुसि ल्याएको बताउदै उनले भने “हामीले आफ्नो दायित्व पुरा गरेका हौ , कुनै चमत्कारी कार्य गरेका होइनौ । ” अहिले नेपालमा विद्युत उत्पादन बढी रहेकोले विद्युत खेर  जान नदिनका लागि आन्तरिक विद्युत खपत बढाउनुका साथै विद्युत निर्यात गर्ने पनि उनले बताए । लोडसेडिङ्ग अन्त्य सँगै प्राधिकरण नाफामा जान थालेको र  विद्युत चुहावट पनि १५ प्रतिशतमा झारेको बताउदै उनले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको बताए । 
 
हाल ८० प्रतिशत जनताको घरमा विद्युत पुगेकोमा आगामी तीन वर्ष भित्र सबै नेपाली जनताको घरमा विद्युत पुर्याउने सरकारको अभियानलाई पुरा गर्न प्राधिकरण  लागि परेको बताए । राजधानिलाई सुन्दर बनाउन विद्युतीय तारलाई भूमिगत बनाउन सुरु गरीएको पनि उनले बताए ।  प्राधिकरणले हाल प्राप्त गरीरहेको सफलता अपबाद नभई निरन्तरता हुने उनले बताए । त्यस्तै कार्यक्रममा डा. रुइतले जनताको आकांक्ष पुरा गर्न लागि पर्नु पर्ने बताए । डा.रुइतले हाल सम्म १ लाख ३० हजार भन्दा बढीको उपचार गरी उनीहरुको नेत्रज्योति पुनःस्थापित गाएका छन् ।  

प्रतिक्रिया