भर्खरै

मिक्वाखोलामा ४९ मेगावाटको विद्युत् आयोजना बनाइँदै

  • प्रकाशित मिति : Fri-27-Dec-2019
  • -
title

पुस,ताप्लेजुङ  । मिक्वाखोला गाउँपालिकामा पुस १५ देखि जलाशयसहितको जलविद्युत् आयोजना निर्माण सुरु हुँदै छ । मिक्वाखोला–४ साँवाको फुङफुङे झरना भएको क्षेत्रमा आयोजना निर्माण हुनेछ ।
 
तीन वर्षमा निर्माण भइसक्ने दाबी गरिएको ४९ मेगावाट क्षमताको आयोजना मध्य मेवाखोला जलविद्युत् आयोजनाले निर्माण गर्ने आयोजनाका प्रबन्धक दीपेन्द्र आङ्वोले बताए । यसका लागि ट्यांकी निर्माण हुने क्षेत्रमा २० मिटर उचाइको बाँध बाँध्ने तयारी छ । हिउँदमा १८ घण्टा पानी जमाएर ‘पिक आवर’ मा ६ घण्टा चलाउने र वर्षामा नियमित चलाउने गरी बाँध बनाउन लागिएको हो । बाँधले छरसात सय मिटर लामो दूरीसम्म मेवा खोलामा पानीको जलाशय बन्छ । प्रतिसेकेन्ड १२ हजार घनमिटर पानी जम्मा हुने आयोजनाले जनाएको छ ।
 
फुङफुङे झरनासमेत बाँधभित्र पर्ने भएकाले निर्माणपछि यो आकर्षक पर्यटकीय गन्तव्य बन्ने अनुमान छ । झरना अवलोकन गर्ने, बोटिङ र र्‍याफ्टिङ गर्नेहरूका लागि उपयुक्त स्थल हुने सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ अध्यक्ष सुरज ओझा बताउँछन् । झरनाको पानी सिधै जलाशयमा खस्दा थप आकर्षक हुने उनको भनाइ छ ।
यहाँ फुङफुङे मन्दिर पनि भएकाले त्यसलाई जोगाउन बाँध केही सानो बनाइने पूर्वसांसद तथा आयोजनाका सञ्चालक समिति सदस्य डम्बरध्वज तुम्बाहाम्फेले बताए । मन्दिर जोगाएर वरिपरि जलाशय हुने र मानिस आवतजावतका लागि पुल बनाउने योजना पनि रहेको उनले बताए । भौतिक योजना तथा निर्माणमन्त्री वसन्तकुमार नेम्बाङ आयोजना सञ्चालक समिति अध्यक्ष हुन् । अहिले आयोजनाले यहाँसम्म पुग्ने सडक निर्माण गरिरहेको छ । आयोजनास्थलमा सडक पुग्न अब करिब एक किलोमिटर मात्रै बाँकी छ । सडक पुगेपछि सुरुङ र बाँध निर्माणको काम सुरु हुनेछ ।
करिब तीन सय मिटर उचाइको झरनालाई सरकारले देशका सय पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ । यहाँ अहिले पनि पर्यटक जाने गरेका छन् । पर्यटकलाई लक्ष्य गरी तीनजुरे मिल्के जलजले ९टीएमजे० क्षेत्रसँगको सहकार्यमा सामुदायिक वनले पैदल मार्ग बनाइरहेको छ ।
साँवामा पाँच किलोमिटरको सुरुङ हुने आयोजनाको विद्युत्‌गृह भने लिबाङको नावामा हुनेछ । पापुङको तोक्पेगोलास्थित सोदु पोखरीबाट मेवाखोला सुरु भएको छ । यही आयोजनाले योभन्दा माथि सिम्बुकमा २० र पापुङमा २० गरी ४० मेगावाट निर्माण सुरु गर्दै छ । त्यहीँबाट झरेको पानीबाट यहाँको जलाशय बन्छ । यहाँ उत्पादित बिजुली मैवाखोला गाउँपालिका–२ ढुंगे साँघुमा निर्माणाधीन कोसी करिडोरमा जम्मा हुन्छ ।
स्रोत ः कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार