न्यादी आयोजनाबाट बैशाखदेखि विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title

 
लमजुङ, मंसिर । लमजुङमा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट बैशाखदेखि विद्युत उत्पादन सुरु हुने भएको छ ।  २०७३ चैत्रबाट न्यादी हाइड्रोपावर कम्पनीले निर्माण सुरु गरेको आयोजना अन्तिम चरणमा पुगेसँगै बैशाख देखि आयोजनाबाट विद्युत उत्पादन सुरु हुने भएको हो ।
 
 आयोजनाको हाल सम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाका इन्जिनियर विक्रमध्वज शाहीले बाँध क्षेत्रका संरचना निर्माण सुरु गरिएकोे बताए । उनका अनुसार ३.८४ किलोमिटर लामो मूख्य सुरुङको ढलानको काम पनि अन्तिम चरणमा पुगेको बताए । 
 
आयोजनाको विद्युतगृहको सिभिल संरचना निर्माण सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान भईरहेको छ । यसअघि आगामी चैत्रभित्र उत्पादन सुरु गर्ने तालिका भए पनि आयोजना सम्पन्न नहुने हुँदा अवधि लम्बिएको हो । आयोजनाबाट उत्पादन हुने विद्युत वैकल्पिक रूपमा १३२ केभी भुलभुले–मस्र्याङदी प्रसारण लाइनमार्फत प्रणालीमा जोडिने भएको छ । 
 
नेपाल विद्युत प्राधिकरणले आयोजनाले विद्युत उत्पादन सुरु गर्ने अवधिमा २२० केभी मस्र्याङ्दी कोरिडोरको खुदी सबस्टेसनको काम सम्पन्न गर्ने अवस्था नरहेकाले वैकल्पिक लाइनमा जोडिने कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोवल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् । 

प्रतिक्रिया