भर्खरै

आगामी असार मसान्त सम्ममा बिजुलीका सात हजार काठे पोल विस्थापित गरिदैं

  • प्रकाशित मिति : Mon-02-Dec-2019
  • - विद्युत संसार संवाददाता
title

गोरखा,मंसिर । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जिल्लामा प्रयोग भएका करिव ७ हजार काठका बिजुली पोल विस्थापित गर्ने भएको छ । 
 
गोरखा वितरण केन्द्रबाट विद्युत लाइन विस्तारका लागि प्रयोग भएका सबै काठेपोल आगामी असार मसान्त सम्ममा विस्थापित गरी स्टिल पोल राखिने भएको हो । 
 
गोरखा वितरण केन्द्रका केन्द्र प्रमुख माधव न्यौपानेका अनुसार हाल गोरखा जिल्लामा प्रयोग भएका करिव सात हजार काठे पोल विस्थापन गर्न कार्यालयबाट ४ हजार जति र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि ३ हजार स्टिल पोल वितरण गर्ने तयारी गरेको बताए । उनले भने हामीले ‘असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य राखेका छौ गत वर्ष पनि ९ हजार काठेपोल विस्थापन गरी स्टिलको पोल राखेको थियौं । 
 
ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढिकरणका लागि चालु आर्थिक वर्षमा १० करोड ८७ लाख रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए । काठेपोल प्रतिस्थापन कार्यक्रम अन्तर्गत मन्त्रालयबाट ५ करोड ५० लाख रुपैयाँ विनियोजन भएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले जनाएको छ । 
 
प्राधिकरणले गोरखा नगरपालिकालाई ४ सय र पालुङटार नगरपालिकालाई ४ सय ५० पोल, आरुघाट गाउँपालिकालाई ४ सय, भिमसेन थापा गाउँपालिकालाइ ४ सय ५० र शहीद लखन गाउँपालिकालाइ ३ सय ५० पोल , बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकालाइ ३ सयको दरले पोल वितरण गर्ने उनले बताए । 
 
त्यस्तै, गण्डकी गाउँपालिकालाई २ सय र अजिरकोट गाउँपालिकालाई १ सय ५० पोल वितरण गरिने बताउँदै टेण्डर प्रक्रियामा जाने तयारी भइरहेको उनको भनाई छ । विभिन्न स्थानीय तहबाट कुल ११ हजार ४८१ पोल माग भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष पनि मन्त्रालयले विभिन्न स्थानीय तहमा ३ हजार ५५० पोल वितरण गरेको थियो । वितरण गरिएका ती पोलहरु करिव पाँच करोड मूल्य बराबरको रहेको प्रमुख न्यौपानेको भनाई छ । 
 
मन्त्रालयबाट प्राप्त पोलहरु कार्यालयले नै सम्बन्धित स्थानीय तहमा ढुवानी गर्ने छ । तर पोल ठड्याउने, तार सार्ने लगायतका काममा नेपाल विद्युत प्राधिकरणसँग समन्वय गर्न भनिए पनि समन्वय नभएको प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । आवश्यकताका आधारमा स्टिल पोल वितरण गरी सबै काठेपोल विस्थापित गर्ने केन्द्र प्रमुखको भनाई छ । 

प्रतिक्रिया