उपभोक्ताले नयाँ प्रविधिका झिलिमिली बत्तीहरु रुचाउने गर्दछन्
- प्रकाशित मिति : Sun-27-Oct-2019
- - भरत लामिछाने, अध्यक्ष, विद्युतीय व्यवसायी संघ चितवन

बत्तीहरुको पर्व तिहार नजिकिदै गर्दा चितवनमा झिलिमिली बत्तीको व्यापार सामान्य नै छ । तिहार विशेषका लागि उपभोक्ताले विभिन्न प्रकारका झिलिमिलि बत्तीहरु खरीद गर्ने गरेका छन् । होलसेलबाट झिलिमिली बत्तीको व्यापार सान्तोषजनक भए पनि खुद्रा व्यापार भने गत वर्षको तुलनामा कम भएको छ । उपभोक्ताहरु सँग स्टक झिलिमिली बत्ती भएका कारण खुद्रा व्यापार खासै नभएको हो । उपभोक्ताहरुले तिहारका लागि लिड जन्य झालर बत्तीहरु मात्र नभई पाइप लाईट, डिक्स लाईट लगायतका अन्य नयाँ प्रविधिका झिलिमिली बत्तीहरु बढी मात्रामा रुचाउने गरेका छन् ।
नेपालमा तिहार विशेषका लागि चीनबाट झिलिमिली बत्तीहरु आयात हुने गरेको छ । तिहारका लागि नेपालमा नै झिलिमिली बत्तीहरु उत्पादन गर्न सकिने भए पनि औद्योगिक वातावरण नहुँदा झिलिमिली बत्ती चिनबाट आयात गर्नु परेको हो ।
सरकारले लगानीकर्ताहरुलाई प्रोत्साहित गरी, उचित नीति नियमको तर्जुमा गरी औद्योगिक वातावरण सिर्जना गर्ने हो भने नेपालमा नै झिलिमिली बत्ती उत्पादन गर्न सकिन्छ । त्यस्तै नेपालमा व्यावसायिक वातावरण पनि खासै छैन । जुन सामग्री विक्रि गर्नका लागी र्फम दर्ता भएका हुन् ति सामग्री मात्र बेच्नु पर्ने हो तर नेपालमा त्यस्तो स्थिति छैन । तिहारमा नै हेर्ने हो भने पनि विद्युतीय व्यवसायीहरुले मात्र नभई गिफ्ट सप, मोवाइल पसल, किराना पसल, भाडा पलस लगायतमा झिलिमिली बत्तीहरुको व्यापार हुने गर्दछ । यसले गर्दा वास्तविक विद्युतीय व्यवसायीहरु समस्यामा पर्ने गरेका छन् । यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनु पर्दछ ।