भर्खरै

बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण विषयमा ऊर्जामन्त्री र सांसदहरुबीच छलफल

  • प्रकाशित मिति : Mon-21-Oct-2019
  • - Admin
title

 
काठमाण्डौ, कात्तिक । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणका विषयमा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र धादिङ, गोरखाका सांसद, पूर्वसांसद तथा प्रतिनिधिहरु बीच छलफल भएको छ । 
आयोजनाको मुआब्जा निर्धारणबारे मन्त्री पुन र सरोकारबालाहरुसँग आईतबार छलफल भएको हो । छलफलमा मन्त्री पुनले बुढीगण्डकी जलविद्युत  आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले दुवै जिल्लाका जनप्रतिनिधीहरुलाई मुआब्जा निर्धारण गरेर अघि बढ्ने तयारीमा मन्त्रालय रहेको बताए । उनले सरोकारबाला सवैलाई यो काममा सहयोग गरिदिन समेत आग्रह गरे ।
उनले बुढीगण्डकी जलविद्युत आयोजना सरकारको प्राथमिकताको रहेको भन्दै आयोजना अघि बढ्नेमा शंका नगर्न बताए । उनले भने “प्रधानमन्त्रीज्यु, सरकार र मन्त्रालय बुढीगण्डकीलाई अघि बढाउन प्रतिवद्ध छ, यो सरकारको उच्च प्राथमिकतामा रहेको परियोजना हो । यसलाई अघि बढाउन हामी विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौं ।” 
 
सरकारले ४४ हजारभन्दा बढी रोपनीको मुआब्जा वितरण गरिसकेको छ भने १८ सय रोपनी जग्गाको मुल्य निर्धारण बाँकी रहेको छ । जग्गाको मुल्य निर्धारणको लागी मन्त्रालयले सबै सरोकारवालाहरुसँग छलफल अघि बढाएको हो । गोरखाको आरुघाट, आरखेत र धादिङको आरुघाट र खहरेमा मुआब्जा निर्धारण बाँकी छ ।  
 
छलफलमा पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले आयोजना छिटो भन्दा छिटो अघि बढाइदिन आग्रह गरे । उनले बुढीगण्डकी परियोजना मुलुककै लागी गेमचेन्जर आयोजना भएको भन्दै सरकारले परियोजनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । 
त्यस्तै पुर्व सांसद चीनकाजी श्रेष्ठले आयोजनालाई अघि बढाउन सहयोग गर्न तयार रहेको भन्दै सरकारको प्राथमिकतामा पारिदिन आग्रह गरे । त्यस्तै नेकपाका नेता समेत रहेका सांसद हरि अधिकारीले मुआब्जा निर्धारण गर्न बाँकी जग्गाको टुंगो लगाईदिन मन्त्री पुनसंग आग्रह गरे । 
छलफलमा धादिङका प्रदेश सांसद रामकुमार अधिकारी, प्रतिनिधीसभाका सदस्य भुमि त्रिपाठी र पुर्व सांसद गुरु बुर्लाकोटी सहभागी थिए ।

प्रतिक्रिया