भर्खरै

तमोर र माडि जलविद्युत आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने

  • प्रकाशित मिति : Wed-16-Oct-2019
  • - Admin
title

 
काठमाण्डौ, असोज ।  पाँचथरको ७६२ मेगावाट क्षमताको तमोर जलविद्युत आयोजना र  रोल्पाको  १५६ मेगावाट क्षमताको माडि जलविद्युत आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने भएको छ ।  कुल ९१८ मेगावाट क्षमताका उक्त दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले निर्माण गर्न आइतबार सम्झौता भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका उपाध्यक्ष पान देङ युले हस्ताक्षर गरेका हुन् ।
 उक्त आयोजनामा नेपाली कम्पनी एचआइडिसिएल को २६ प्रतिशत शेयर हुनेछ भने  चिनियाँ कम्पनी पावर चाइनाको ७४ प्रतिशत हिस्सा हुनेछ । समझदारी अनुसार दुवै आयोजना सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण हुने छ । कुल १ खर्ब ६४ अर्ब लागत अनुमान गरिएको मध्ये तमोर आयोजनामा करिब १ खर्ब २५ अर्ब रुपैयाँ र माडी आयोजनामा ३९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 
 लगानी बोर्डले गरेको  आह्वान अनुसार आयोजनामा लगानी प्रस्ताव गर्ने कम्पनीमध्येबाट सर्टलिस्ट गरी कम्पनी छनोट गरिएको थियो । सर्टलिस्टमा रहेका कम्पनीमध्येबाट ऊर्जा मन्त्री वर्षमान पुनका संयोजकत्वमा रहेको मूल्यांकन समितिले २४ असोजमा एचआइडिसिएल र पावर चाइनाको संयुक्त उपक्रम (जोइन्ट भेन्चर)लाई उपयुक्त कम्पनी छनोट गरेको हो ।

प्रतिक्रिया