भर्खरै

कुलेखानी तेस्रो सम्पन्न, सोमबारदेखि ७२ घन्टे परीक्षण उत्पादन सुरु

  • प्रकाशित मिति : Tue-15-Oct-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,असोज । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले विद्युत उत्पादन शुरु गरेको छ ।  १४ मेगावाटको क्षमता रहेको सो आयोजना १२ वर्ष पछि सोमबारबाट  आयोजनाको ७२ घन्टे परीक्षण उत्पादन सुरु भएको हो । 
 
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले संयुक्तरुपमा रु चार अर्ब ६३ करोडको अनुदानमा करिब १२ वर्षअघि सो आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो ।
उक्त आयोजनाबाट उत्पादित विद्युत् अब नियमितरुपमा उत्पादन भइरहने सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाको विद्युतलाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो आयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताए ।
त्यस्तै नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मदन तिम्सिनाले सोमबारदेखि यस आयोजनाको ७२ घन्टे परीक्षण सुरु भएको जानकारी दिदै उनले ‘एउटा मेसिनबाट निरन्तर ७२ घन्टासम्म विद्युत उत्पादन हुने र यो सफल भएपछि त्यसरी नै अर्को मेसिन चलाइने बताए । 
 
 उनका अनुसार २०७५ फागुनदेखि निरन्तर उपकरण परीक्षण गरिएको थियो । ठेकेदारको ढिलासुस्ती, प्राधिकरण तथा आयोजनाको कमजोर व्यवस्थापन लगायत कारणले निर्माण सुरु भएको करिब १२ वर्षपछि विद्युत उत्पादन भएको उनको भनाई रहेको छ । 
आयोजनाको सिभिल निर्माण कार्य चीनको सिनो हाइड्रो कर्पोरेशनले सकेपनि हाइड्रो तथा इलेक्ट्रो मेकानिकल ठेकेदार झेजियाङ जिनलुनका कारण आयोजना लम्बिएको थियो । चिनियाँ कम्पनीसँग मिलेर काम गरेको हुलास इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनीको अक्षमता र लापरबाहीले पनि आयोजना ढिलो हुनुमा ठूलो बल पुग्यो । सम्झौता अनुसार काम ढिलो गरेवापत लगाइने जरिवाना तिराउँदा समेत कम्पनीले कामलाई तीव्रता दिएको थिएन । निर्माण अवधि लम्बिँदा त्यही अनुसार आयोजनाको लागत पनि आकासिएको छ । 
 
२०६४ सालमा ३ वर्षभित्र निर्माण सक्ने गरी २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तर अहिले लागत करिब ५ अर्ब पुगिसकेको छ । ५ अर्ब लागतका आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब ३५ करोड ७१ लाख रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया