भर्खरै

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

  • प्रकाशित मिति : Mon-23-Sep-2019
  • - Admin
title

पाँचथर, असोज । पाँचथरमा निर्माण भएको  ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत  यो आयोजना यसै साताबाट राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको हो ।
 आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले करीव एक महीना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको  बताए । 
 
एक मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले बताए । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत उत्पादन हुनेछ भने हिउँदको समयमा तीन मेगावाट मात्रै उत्पादन हुने प्रवद्र्धक कम्पनीले जनाएको छ । 
आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । यस आयोजनाको विद्युतलाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत काबेली वी वान आयोजना स्थलसम्म पु¥याइएको छ । त्यहाँबाट पाँच किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका वडा नं १ दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत विद्युत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । 
 
आयोजनाले विसं २०७० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरीद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो । तर निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवद्र्धकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन् । आयोजना कूल रु एक अर्ब ६० करोड लागतमा निर्माण सम्पन्न भएको हो । 

प्रतिक्रिया