भर्खरै

नलगाड जलविद्युतको मुआब्जा पाउने ३ हजार ८६१ जना जग्गाधनीको नामावली सार्वजनिक

  • प्रकाशित मिति : Wed-18-Sep-2019
  • - Admin
title

 
 
काठमाडौं, भदौ । जाजरकोटमा निर्माण हुन ४१७ मेगावाटको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित मुआब्जा पाउने ३ हजार ८६१ जग्गाधनीको नामावली सार्वजनिक भएको छ । 
जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जलाशयबाट प्रभावित स्थानमा जग्गा अधिग्रहण प्रक्रिया थालेपछि मंगलबार मुआब्जा पाउने जग्गा धनीहरूको नाम सार्वजनिक गरेको हो । 
 मुआब्जा पाउनेहरुको नाम र जग्गाको क्षेत्रफल सार्वजनिक गरेको प्रशासनले मुआब्जा प्राप्तिका लागि १५ दिनभित्र जग्गाधनी प्रमाणपत्र लगायतका कागजातसहित सम्पर्क राख्न आग्रह गरेको छ । आयोजनाबाट बारेकोट गाउँपालिका अन्तर्गत पर्ने साविकको सकला गाविसका वडा नं. १, २, ३, ४, ७, ८ र ९, नायकवडाका ५, ६, ७ र ८, रोकायागाउँका ६ र ९ सँगै रामीडाँडाका १, २, ३ र ६ वडा डुबानमा पर्ने अनुमान गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ (१) अनुसार अघि बढाइएको अधिग्रहण प्रक्रियामा ३ हजार ८ सय ६१ जग्गाधनीको नाम मुआब्जा पाउनेको सूचीमा रहेको आयोजनाले जनाएको छ ।
प्रशासनले सार्वजनिक गरेको नामावली सूचीमा छुटेका या चित्त नबुझेका व्यक्तिले पनि कार्यालयमा सम्पर्क राखेर गुनासो बिसाउन सक्नेछन् र गुनासो अध्ययन गरेर आवश्यक निर्णय लिने प्रशासनको भनाइ छ । सरकारले यस वर्ष नलगाड आयोजनाका सबै पीडितलाई मुआब्जा बाँड्ने गरी दुई अर्ब ७२ करोड रकम छु्ट्याएको छ । हालसम्म आयोजनाको बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युतगृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण भएको थियो ।
प्रत्येक वर्ष सरकारले यस आयोजनालाई बजेट छुट्याए पनि बजेट अपुग भएकोले काम अगाडि बढ्न सकेको थिएन । मुआब्जा वितरण गरिएको ठाउँमा यो भन्दा अगाडि प्रतिरोपनीको चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो ।
 
४१७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

यो आयोजनाबाट ४१७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका(७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण हुनेछ । बाँधस्थल अँधेरीखोलादेखि दल्ली विद्युत् उत्पादन गृहसम्मको सुरुङमार्गको लम्बाइ आठ किलोमिटर हुने प्राविधिक अनुमान छ ।
स्मेकरएमडब्लुएच कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिए पनि प्रतिवेदन (डीपीआर) निर्माणको काम सकिन अझै धेरै समय लाग्ने सम्भावना जनाएको छ । दुईपटक म्याद थप्दा पनि कम्पनीले विभिन्न समस्या देखाउँदै डीपीआर तयार गर्न ढिलाइ गरेपछि आयोजनाको काम अघि बढाउन ढिलाई भएको आयोजनाले जनाएको छ । त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणकार्य केही समयअघि मात्रै सुरु भएको थियो । 
 
यो आयोजनाबाट उत्पादन हुने विजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्न नलगाड नगरपालिका(७ को दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सबस्टेशन निर्माण कार्यका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण कार्य पनि सुरु गरिँदैछ । त्यहाँबाट ११२ किलोमिटरको प्रसारणलाइन बनाएर कोहलपुर सबस्टेसनमा जोड्ने योजना छ ।
 

प्रतिक्रिया