भर्खरै

दार्चुलामा नेपालकै बिजुली

  • प्रकाशित मिति : Thu-12-Sep-2019
  • - सुन्दरसिंह धामी
title

 
दार्चुला । नेपालको पश्चिममा रहेको दार्चुलाको सदरमुकाम खलंगामा बिहीबारदेखि पहिलोपटक आफ्नै देशको बिजुली बलेको छ। दार्चुलामै रहेको चमेलिया जलविद्युत् आयोजनाको बिजुली उत्पादन भएको झण्डै तीन वर्षपछि सदरमुकाम खलंगामा पहिलोपटक बिजुली बलेको हो। महाकाली नगरपालिका ७ स्थित थालिगाडमा निर्माण भएको सबस्टेसन चार्ज भएपछि बिहीबारदेखि दार्चुला सदरमुकाममा चमेलियाको विद्युत् सेवा उपलब्ध गराइएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ। 
 
थालिगाडमा निर्माण भएको सबस्टेसन जेठ महिनामा ११ केभी प्रसारण लाइनमै चार्ज गरिएको थियो। गोकुलेश्वरबाट थालिगाडसम्मको ३३ केभीको २५ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एक सातादेखि ३३ केभी प्रसारण लाइनलाई चार्जिङ टेस्ट गरेर बिहीबारबाट नियमित लाइन सदरमुकामसम्म छोडिएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए। ‘थालिगाडबाट एक सर्किटमा सदरमुकाम खलंगासम्म सोमबारदेखि लाइन छोडिएको छ’, उनले भने, ‘समस्या नआएपछि नियमित लाइन छोडिएको हो।’ अब विस्तारै दोस्रो सर्किटबाट जौलजिवीसम्म लाइन छोड्ने तयारी गरिरहेको उनले बताए। थालिगाडबाट पहिलो सर्किटमा सदरमुकाम, दुहु र व्यास गाउँपालिकामा लाइन छोड्ने कार्ययोजना छ। दोस्रो सर्किटबाट जौलजिवी, लाली हुँदै जिल्लाका अन्य ठाउँमा लाइन छोडिने दार्चुला वितरण केन्द्रले जनाएको छ । 
 
तत्काल राष्ट्रिय प्रसारणलाइन एवं चमेलियाको बिजुली थालिगाड, मेसिनबालुवा, खेट्टेबगड, किम्तडी, धौलगाड, नमस्कार र सदरमुकामसम्म छोडिएको छ। हाल सदरमुकाम माथिल्लो क्षेत्रमा प्रसारण लाइन निर्माणाधीन छ। थालिगाडदेखि तल्लो क्षेत्रमा केही दिनमै लाइन छोडेर जौलजिवीदेखि भारतबाट ल्याएको लाइन काटिने वितरण केन्द्र प्रमुख शाहले जानकारी दिए। ‘माथिबाट पनि भारतबाट आउने बिजुली काट्न निर्देशन आइसकेको छ’, उनले भने, ‘लाइन छोड्नेबित्तिकै जौलजिवीबाट आउने बिजुली काटिनेछ।’ नयाँ लाइन र जंगलबाट प्रसारणलाइन आएको हुनाले तत्काल भारतीय बत्ती काट अगाडिजस्तै समस्या आउनसक्ने भन्दै तत्काल नकाटिएको उनले बताए। केही ठाउँबाहेक अहिलेसम्म महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन र लेकम गाउँपालिकाका अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइन निर्माण भइसकेको र केही ठाउँमा निर्माणाधीन अवस्थामा छन्। दुहु, मार्मा र व्यास गाउँपालिकामा निर्माणाधीन तथा नौगाड र अपीहिमाल गाउँपालिकामा चालु आवबाट प्रसारण लाइन निर्माण हुने वितरण केन्द्र दार्चुलाका प्राविधिक मीनराज पन्तले जानकारी दिए। ०७३ मा दार्चुलाबाट उत्पादन भएको बिजुली देशका अन्य भागमा प्रयोग भए पनि स्थानीयले भने बल्ल उपभोग गर्न पाएको महाकाली नगरपालिका ७ का रमेश रैखोलाले बताए। २०७३ मा इनर्जी प्याक इन्जिनियरिङ नरेन्द्र निर्माण जेभीसित १ वर्षमा निर्माण सक्ने गरी सम्झौता भएको सबस्टेसनको काम ३ वर्षभन्दा बढी समय लगाएर निर्माण भएपछि स्वदेशकै बिजुली बलेको हो। १५ वर्षदेखि दार्चुला सदरमुकाममा बालिँदै आएको भारतीय बिजुली विस्थापित भएपछि नेपाली खुसी भएका छन्। चमेलियाबाट बिजुली उत्पादन होला र हामी बालौंला भन्ने सोच्दै नसकेको महाकाली नगरपालिका ४ का खेमराज भट्टले बताए। अन्नपुर्ण दैनिक 

प्रतिक्रिया