भर्खरै

विद्युत प्राधिकरणमा कुलमानको कुशल नेतृत्वको प्रभाव

  • प्रकाशित मिति : Wed-21-Aug-2019
  • - Admin
title

 
आज भोलिको समयमा सरकारी निकायहरू एकपछि अर्को घाटामा जाने, टाट पल्टने प्रवृत्ति बढिरहेको छ तर नेपाल विद्युत् प्राधिकरणले भने आफूलाई उन्नत साबित गरेको छ । प्राधिकरणले गत वर्षको तुलनामा यस वर्ष १४९ प्रतिशत बढी नाफा कमाएर ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणको नेतृत्वले आफूलाई प्रमाणित गरेका छन् ।
नेपाली जनताले विगत लामो समयदेखि दिनमा १८ घण्टा सम्म लोडसेडिङ्गको मार खेप्दै आइरहेको थियो । जब २०७३ सालमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङ् नियुक्त भए तब जनताले यी समस्याहरुबाट मुक्त पाए भने विद्युत प्राधिकरणको उन्नति र प्रगतिका दिनहरु सुरु हुन थाले । कुलमानको एक सच्चा र कुशल नेतृत्वका कारण विगत १० वर्षदेखि निरन्तर रुपमा घाटा बेहोर्दै आएको विद्युत प्राधिकरण हाल नाफामुलक संस्थाको रुपमा परिणत हुन सफल भएको छ । यो एउटा कुशल नेतृत्वको प्रभाव हो । 
अघिल्लो वर्ष प्राधिकरणले २ अर्ब ९० करोड नाफा गरेको थियो भने हाल यस संस्थाले  ७ अर्ब २० करोड नाफा कमाउन सफल भएको छ । त्यस्तै विगतको तुलनामा चुहावट नियन्त्रणको प्रतिशत समेत बढेको छ ।  यो आर्थिक वर्षमा विद्युत चुहावट अघिल्लो वर्षको तुलनामा ५.३२ प्रतिशतले कमी आएको छ । त्यस्तै, नाफा कमाउन प्राधिकरणले विद्युत व्यापारसमेत बढाएको छ, जसअनुसार ग्रिडमा आबद्ध भएर विद्युत् उपभोग गर्ने उपभोक्ताको संख्या ७८ प्रतिशत पुगेको छ,जुन गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । 
 
 प्राधिकरणले वार्षिक रुपमा नाफा बृद्धि गर्दै जानु विद्युतीय क्षेत्रमा सुधार हुनुको संकेत हो । प्राधिकरणले भारतबाट विद्युत आयात गरी नेपालको विद्युत भार व्यवस्थापन गरेको र जनताको आँखामा घिसिङको नेतृत्वले छारो हाल्ने काम गरेको भन्ने आक्षेप लाग्दै आएको भए पनि भारतसँगको सीमावर्ती क्षेत्रमा नेपालले हाल रु ३२ करोड मूल्य बरबार विद्युत निर्यात गरेको छ । घिसिङ नेतृत्वको कुशल व्यवस्थापनाका कारण नेपालले भारतबाट मात्र विद्युत आयात गरेको होइन नेपालले भारतलाई समेत विद्युत निर्यात गर्दै आएको छ । विद्युतीय क्षेत्रमा अहिले भएको सकारात्मक परिवर्तन निरन्तर रुपमा हुँदै जानु पर्छ  । भारत बाट आयात हुने विद्युतलाई शून्यमा झारी नेपालबाट धेरै भन्दा धेरै विद्युत भारत लगायतका अन्य देशहरुमा निर्यात हुनुपर्छ । यसका लागि प्राधिकरणको नेतृत्व निरन्तर क्रियाशिल हुँदै जानुपदर्छ ।

प्रतिक्रिया