हरेक विद्युतीय सामग्रीमा गुणस्तर चिन्ह् कायम गर्नुपर्छ
- प्रकाशित मिति : Wed-21-Aug-2019
- - रुद्रकुमारी श्रेष्ठ

अहिलेको युग नयाँ नयाँ प्रविधिको युग हो । प्रविधिको विकास भएसँगै मानिसहरु भौतिक वस्तुमा रमाउन थालेका छन् । मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउन पछिल्लो समय विकास भएका विद्युतीय सामग्रीहरुको प्रयोग अहिले विश्वभर अत्याधिक हुन थालेको छ । मानिसलाई असम्भव लाग्ने मानिसले गर्न नसक्ने कार्य पनि विद्युतीय सामग्रीको विकासले सहजै ढंगबाट सम्पादन गर्न सकिने भएको छ ।
विद्युतको विकास सँगै विश्व नयाँ युगमा प्रवेश गरेको छ । नयाँ तथा प्रविधियुक्त विद्युतीय सामग्रीहरुको प्रार्दुभाव भएको छ ।
फ्रिज, एसी, मिक्स्चर, गिजर, फ्यान, लगायतका विद्युतीय सामग्रीहरुले मानिसको दैनिकीलाई सहज बनाएको छ । विद्युतको विस्तार भएसँगै नेपालमा पनि विद्युतीय सामग्रीका उपभोक्ताहरु दिन प्रतिदिन बढ्दै गएको छ । आफ्ना दैनिक कार्यलाई छिटो र सहज बनाउनका लागि मानिसले प्रविधियुक्त विद्युतीय सामग्रीको प्रयोग गर्ने गरेका छन् । नयाँ नयाँ विद्युतीय सामग्री प्रति मानिसको आर्कषण बढ्दै गएको छ । विद्युतीय सामग्री प्रतिको आर्कषण तथा त्यसको माग बढेसँगै नेपालमा विभिन्न मुलुकहरुबाट विद्युतीय सामग्रीहरु आयात हुने गरेको छ ।
छिमेकी राष्ट्र चीन, भारत लगायत युरोप, फ्रान्स जस्ता देशहरुबाट पनि विद्युतीय सामग्रीहरु नेपालमा आयात हुने गरेको छ । आयातीत विद्युतीय सामग्रीहरु कतिपय गुणस्तरयुक्त छन् भने कतिपय गुणस्तरहिन छन् । विद्युतीय सामग्रीको भन्सारमा गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था नहुँदा नेपालमा हरेक किसिमका विद्युतीय सामग्रीहरु भित्रने गरेको छ । नेपालमा हरेक किसिमका विद्युतीय सामग्री भित्रदा उपभोक्ताहरु सुरक्षित हुन सकेका छैनन् । सरकारले विद्युतीय सामग्रीको गुणस्तर परीक्षण गर्ने प्रावधानको व्यवस्था नगर्दा उपभोक्ताहरुले बजारमा आएका कुन सामग्री गुणस्तरयुक्त हुन् कुन गुणस्तरयुक्त होइनन् भन्ने विषय छुट्याउन सक्दैनन् । तसर्थ यस विषयमा सरकारले चासो दिनु आवश्यक छ ।
नेपालमा विभिन्न कम्पनी तथा ब्राण्डका विद्युतीय सामग्रीहरु भित्रने गर्दछ । हरेक कम्पनीले आनो राम्रो भनिरहेका हुन्छन् यद्यपि ग्राहकलाई कुन सामग्री गुणस्तरयुक्त छन् भन्ने विषयमा एथेष्ट जानकारी हुँदैन जसका कारण विद्युतीय दुर्घटनाहरु हुने गर्दछ, यस्ता दुर्घटनाले मानवीय क्षति सँगै धनजनको पनि ठूलो क्षति गराउँदछ । यस्ता सम्भावित दुर्घटनाबाट बच्नका लागि उपभोक्ताले विद्युतीय सामग्री खरिद गर्दा सस्तो मूल्यका सामग्री भन्दा पनि गुणस्तरयुक्त सामग्री खरिद गर्न प्रेरित गर्नु आजको आश्यकता देखिन्छ । जनमानसमा अझैं पनि जनचेतनाको धेरै नै कमी रहेको पाइन्छ । जनचेतनाको अभावकै कारण देशभर १ वर्षमा कम्तीमा पनि ६०० जना दुर्घटना परी ज्यान गुमाउने गरेको र घाइते हुने गरेको तथ्याड्ढ छ । यसमा राज्य पक्षको पनि निकै ठूलो कमजोरी देखिन्छ । गुणस्तरयुक्त सामग्रीसँगै दक्ष प्राविधिकको अभावले पनि दुर्घटना हुने गरेको छ ।
त्यस्तै नेपाल सरकारले हाल सम्म हाउस वायरीङका तारहरु बाहेक अन्य विद्युतीय सामग्रीमा नेपाल गुणस्तर चिन्ह् कायम गर्न सकेको छैन । सरकारले अहिले विद्युत खपतका लागि उपभोक्ताहरुलाई प्रोत्साहन गरिरहेको छ त्यसैगरी गुणस्तरयुक्त सामानको आयात र प्रयोगमा पनि जनचेतना दिई प्रोत्साहन गर्न आवश्यक छ ।
विभिन्न विद्युतीय व्यवसायी तथा संघ सस्थाको पहलमा एलईडी बल्ब र इन्डक्सन चुल्होमा गुणस्तर चिन्ह् कायम गर्न पहल गरेको भए पनि त्यो अझै प्रक्रियामा नै रहेको छ । उपभोक्ताको सुरक्षाका लागि नेपाल सरकारले विद्युतीय सामग्रीहरुमा गुणस्तर चिन्ह् कायम गर्नुपर्दछ भने सामानको गुणस्तर परिक्षणका लागि अनिवार्य प्रयोशालाको पनि व्यवस्था गर्नुपर्दछ ।