भर्खरै

प्राकृतिक विपत्तिको मारमा सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना , करिब १० करोड बराबरको क्षति

  • प्रकाशित मिति : Mon-05-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,साउन ।  पूर्वी लमजुङको ढोडेनी र फलेनी गाउँ विकास समितिमा पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी “ख” जलविद्युत आयोजनाको निर्माण कार्य ठप्प भएको छ । गत साउन ८ गते आएको भीषण बाढी र पहिरोले आयोजनाको बाँध क्षेत्रका निर्माण उपकरण बगाउँदा करिब २ सातादेखि सबै संरचनाको काम ठप्प भएको हो । 
 
प्राकृतिक प्रकोप बाढी पहिरोका कारण करिब १० करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको पिपुल्स हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक केशवबहादुर रायमाझीले हामीसँगको कुराकानीमा बताए । उनका अनुसार आयोजनाको उपकरण बगाउँदा भएको आर्थिक क्षति बीमा रकमबाट परिपूर्ति गर्ने प्रक्रिया अघि बढेको बताउँदै अहिले आयोजनामा भएको क्षतिको विवरण लिन बीमा कम्पनीका प्रतिनिधि आयोजना स्थल पुगेका उनले बताए । बाढीले आयोजनाको बाँध स्थलबाट लोडर, ट्र्याक्टर, जेनेरेटरलगायत उपकरण बगाएको छ । 
 
उनले भने ‘बीमा दाबीपछि नयाँ उपकरण खरिद गरेरमात्र निर्माण काम सुचारु हुन्छ ।’ नयाँ उपकरण खरिद गरेर निर्माण सुचारु गर्न डेढदेखि २ महिना लाग्ने छ । आयोजनाको भूमिगत डिसेन्डरमा पनि बाढी पसेकाले काम ठप्प छ । बाढीले लेदो माटो र काठका टुक्रा पसेकोले सरसफाई गर्न २ साताको समय लाग्ने रायमाझीले बताए । 
 
बाढीका कारण आयोजनामा परेको समस्याले  आयोजनाकोे उत्पादन तालिका समेत प्रभावित हुन सक्ने आशंका बढेको उनले बताए । आयोजनाको ६० प्रतिशत निर्माण सकिएको छ । सुरुङमा मात्रै ७० प्रतिशत निर्माण सकिएको छ । आयोजनाबाट २०७७ साल असारदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका रहेको छ । 

प्रतिक्रिया