भर्खरै

विभिन्न समस्या झेल्दै रुग्ण बनेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ’ए’ बाट विद्युत उत्पादन शुरु

  • प्रकाशित मिति : Sun-04-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

नुवाकोट ,साउन । नुवाकोट जिल्लामा रहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए ले विभिन्न समस्याहरुको सामना गर्दै आयोजना सम्पन्न  भएको छ । नेपालमा ११ वर्ष सम्म आयोजनामा आएका सबै किसिमका समस्याहरुको समाधानको निरन्तरको प्रयासबाट विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको हो । 
 
यस आयोजनाको पहिलो युनिटबाट गएको जेठ २ गते नै ३० मेगावाट विद्युत् उत्पादन भईसकेको छ । हाल दोस्रो युनिट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएपछि यस आयोजना बाट ६० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । अहिले यो आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट विद्युत उत्पादन भईरहेको छ  । अहिलेसम्म आयोजनाका दुवै युनिटले २ करोड २० लाख युनिट बिजुली उत्पादन गरेका छन् । बजार भाउ अनुसार २२ करोड रुपैयाँको बिजुली उत्पादन भईसकेको छ ।
 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्का अनुसार लामो समय समस्यामा रहेको यो आयोजना सम्पन्न भएपछि ११ वर्षपछिकै ठूलो आयोजना सम्पन्न गरेको बताएका छन् ।  आयोजना सम्पन्न भएको कारण हामीलाई धेरै राहत भएको र उत्साहित भएको उनको भनाई छ । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थमा रहेको सबस्टेसनमा जोडिएको छ । अब दोस्रो युनिटको उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाहरुको पुनः परीक्षण गरिने उनले बताए । 
 
 
ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसनले उपकरणको दक्षता र कार्यसम्पादन अगष्ट तारिखसम्म सम्पन्न गरेपछि टेकओभर सर्टिफिकेट पाउनेछ । सर्टिफिकेट पाएको एकवर्षसम्म आयोजनाको मर्मत पनि ठेकेदार कम्पनीले नै गर्नुपर्ने छ ।  
निर्देशक  घिसिङले भने, ‘लोड सेन्टर (काठमाण्डौ उपत्यका) बाट नजिक रहेको र हिउँदमा समेत झण्डै ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाण्डौ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ, यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्नेछ ।’ 
 
त्रिशूली थ्री ’ए’ पूर्णरुपमा सञ्चालनमा आएपछि आयोजनाबाट देशभित्र खपत हुने ऊर्जामा झण्डै ८ प्रतिशतको योगदान रहने बताउँदै यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने विद्युत घट्ने विश्वास घिसिङ्को रहेको छ । 
आयोजनाले नै काठमाण्डौको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।
 
 
कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैँकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग १४ जेठ २०६७ (२८ मे २०१०) मा ठेक्का सम्झौता भएको थियो ।  प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सीडब्ल्यूई) ले पाएको थियो । १७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्नेगरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । 

प्रतिक्रिया