भर्खरै

मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट ल्याइयो डिजेल

  • प्रकाशित मिति : Wed-24-Jul-2019
  • - Admin
title

 
काठमाण्डौ, साउन । मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट डिजेल अमलेखगन्ज डिपोमा आइपुगेको छ । परीक्षणका क्रममा भारतको पटनाबाट पाइपमा बुधबार छोडिएको डिजेल शुक्रबार अमलेखगन्ज डिपोमा आइपुगेको हो ।  परीक्षणका क्रममा १ हजार किलोलिटर डिजेल अमलेखगन्ज डिपोमा भित्रिएको छ । मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार पाइपमा पटनाबाट छाडिएको तेल हेर्न नेपाल र भारतका प्राविधिकसहितको टोली खटेको र परियोजना परीक्षण सफल भएको बताए ।  
 
अमलेखगन्ज डिपोमा शुक्रबार पहिलोपटक सफल रूपमा डिजेल आयात गरिएसँगै निर्धारीत समयभन्दा करिब ८ महिनाअघि नै मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना सम्पन्न भएको छ । सन् २०१८ डिसेम्बर देखि यो परियोजनामा काम सुरु भएको थियो । २०२० सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी समयसीमा तोकिएको थियो । भारतस्थित पाइपलाइन्स प्रभा पटना–मोतीहारी–बैतालपुर पाइप लाइन परियोजनाका प्रबन्ध निर्देशक एनके पान्डाले ७० किलोको प्रेसरले पटनाबाट अमलेखगन्जसम्म पाइप लाइनबाट तेल भित्रिरहेको जानकारी दिए । पटनाको जमिनको सतह भन्दा झन्डै ३ सय ३ मिटर उचाइमा अमलेखगन्ज डिपो छ । पटनाभन्दा अमलेखगन्ज अग्लो ठाउँमा भएकाले पाइप लाइनमा तेलको प्रेसर बढी दिनुपरेको हो ।
 
रुख कटान, रेलको लिक, सडकमुनि, सहरमुनि पाइप गाड्न भारत र नेपाल सरकारको अनुमति लिनमै धेरै समय लागेकाले तेल भित्र्याउने काम ढिलो भएको पाइप लाइन्स प्रभाग पटना–मोतीहारी–बैतालपुर पाइप लाइन परियोजनाका मुख्य निर्माण प्रबन्धक राजेशकुमार सोनकरले जानकारी दिए ।  
 पटनामा रहेको तेलको गुणस्तर जति नै अमलेगन्जमा झरेको तेलको गुणस्तर  भएको  प्रबन्धक  सोनकरले बताए ।  भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्म पटना–सिवान–मोतीहारी हुँदै अमलेखगन्जमा सिधै तेल भित्र्याउने काम अगाडि बढाइएको नेपाल आयल निगमका अधिकारीले बताए । अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न यसअघि नै ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरको २ वटा गरी ४ वटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गरिएको थियो । 

प्रतिक्रिया