भर्खरै

अप्पर तामाकोसीको सञ्चालक छनोटको निर्वाचन रोकियो

  • प्रकाशित मिति : Tue-16-Jul-2019
  • - Admin
title

काठमाण्डौ, असार । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको मंगलबार हुने भनिएको निर्वाचन छनोट प्रक्रिया रोकिएको छ । उच्च अदालत पाटनले कम्पनी ऐनअनुसार निर्वाचन गराउनु भन्ने आदेशपछि सञ्चालक छनोट गर्ने पूर्वनिर्धारीत  कार्यक्रम रोकिएको हो । 
सञ्चालकमा आवेदन दिएकी गोसाईं केसीले आइतबार दायर गरेको मुद्दामा अदालतले सोमबार फैसला गरेको हो । केसीले ऐनअनुसार सञ्चालकमा महिला कोटा अनिवार्य हुनुपर्ने मागसहित मुद्दा दायर गरेकी थिइन् । अदालतको फैसलापछि निर्वाचन समितिले सोमबार साँझ सूचना प्रकाशित गरेर निर्वाचन स्थगित गरेको छ । 
कम्पनी ऐनको दफा ८६ को उपदफा (२) मा प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक भएको सञ्चालक समिति रहने उल्लेख छ । सोही दफामा महिला सेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक हुनुपर्नेछ ।
यसअघि असार ११ गते हुने भनिएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । त्यतिबेला पनि दोलखाकै बिगू गाउँपालिकामा साधारणसभाबारे जानकारी नगराएको भन्दै विरोध भएको थियो । 
कम्पनीको विनियमावली अनुसार साधारणसभाका लागि संस्थापक र सर्वसाधारण सेयरधनीबाट ६७ प्रतिशत उपस्थिति हुनुपर्ने अनिवार्य व्यवस्था छ । गत ११ गते ५६ प्रतिशतको मात्र उपस्थिति थियो । संस्थापकबाट भने शतप्रतिशत ५१ प्रतिशतले नै उपस्थिति जनाएका थिए । कम्पनीमा ८ लाख १८ हजार साधारण सेयरधनी छन् ।

प्रतिक्रिया