माथिल्लो अरुण आयोजना १ हजार ४० मेगावाट क्षमतामा निर्माण हुने
- प्रकाशित मिति : Wed-26-Jun-2019
- - विद्युत संसार साप्ताहिक
काठमाण्डौ, असार । माथिल्लो अरुण विद्युत आयोजना १ हजार ४० मेगावाट क्षमतामा निर्माण हुने भएको छ । सुरुमा ३ सय ५० मेगावाट हुने भनिएको सो आयोजना अप्टिमाइजेसन अनुसार जडित क्षमता बढ्ने भएको हो ।
आयोजना प्रमुख रामचन्द्र पौडेलका अनुसार आयोजनाको जडित क्षमता १ हजार ४० भए पनि यसको उत्पादन क्षमता भने १ हजार ६० मेगावाट हुने बताए । अघिल्लो वर्ष अद्यावधिक गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार आयोजना करिब ७ सय मेगावाटमा बनाउन सकिने देखाएको थियो ।अर्ध जलाशययुक्त यो आयोजना दैनिक ६ घण्टा पिकिङमा चलाउन सकिने पौडेलले बताए । आयोजना बाट गर्मीमा ७ सय ४० मेगावाट र वर्षा याममा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने अनुमान गरीको उनको भनाई रहेको थियो ।
आयोजना प्रमुख पौडेलका अनुसार आयोजनाको विस्तृत परियोजना अध्ययन भईरहेको र अध्ययन प्रतिवेदन आउन अझै १० महिना लाग्ने बताए । प्रतिवेदन आए पश्चात आयोजना स्थलसम्मको पहुँच मार्ग, जग्गा अधिग्रहण जस्ता प्रक्रिया सुरु हुने उनले जानकारी दिए । गत वर्ष असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत बनाउन स्वीकृति दिएको थियो । ७ वर्षअघिको मन्त्रिपरिषद् निर्णय संशोधन भएपछि गत वर्ष आयोजना प्राधिकरण मातहत आएको हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ फागुन ११ गते आयोजनालाई सरकारको मातहतमा रहने र प्राधिकरणमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोजनाको डीपीआर तयार पार्न प्राधिकरणले चिनियाँ कम्पनीलाई अघिल्लो माघमा जिम्मा दिएको छ ।
माथिल्लो अरुण निर्माणका लागि प्राधिकरणले सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड स्थापना गरिसकेको छ । कम्पनीले २०७३ चैतमा विद्युत् विकास विभागमा सर्वेक्षण अनुमतिका लागि आवेदन दिएको भए पनि विभागले भने अहिलेसम्म उक्त कम्पनीलाई अनुमति पत्र दिइसकेको छैन । गत वर्ष अद्यावधिक गरिएको सम्भाव्यता अध्ययनअनुसार आयोजनाको लागत ८५ करोड अमेरिकी डलरभन्दा बढी अनुमान
गरिएको छ । आयोजनाबाट सरकारलाई ३१ अर्ब ८९ करोड रोयल्टी र थप करसमेत आम्दानी हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।