भर्खरै

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

  • प्रकाशित मिति : Fri-21-Jun-2019
  • - रासस
title

काठमाण्डौं,असार । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् । 
प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिए । नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आएका छन् । 
विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको जानकारी दिए । 
 
यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए । उनले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताए । 
 
गत जेठ मसान्तसम्म एक हजार ५४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री यादवले १४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिए । उनले एक फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारवाहीका लागि सम्बन्धित निकायलाई पठाइएको र तीन वटालाई मुद्दा चलाइएको उल्लेख गरे ।  
 
यस्तै गुणस्तर तथा नापतौल विभागबाट १४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य  १६९ फर्मको अनुमगन गरिएको छ । अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताए । यस्तै उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोलपम्पलाई कारवाही गरिएको मन्त्री यादवको भनाइ छ । 
 
निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयात र बिक्रीका लागि सरकारले सहजीकरण गर्न लागेको र अध्ययन समिति गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले थप पेट्रोलपम्प खोल्नका लागि सूचना आह्वान गरिएको र यही असार १३ गतेसम्म आवेदनको समयावधि रहेको बताए । 
 
उद्योग मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन 
 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो भयो भन्ने सन्दर्भमा मन्त्री यादवले व्यवहारतः त्यस्तो नभएको प्रष्टीकरण दिए । उनले भने “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन । विगतमा भोगेका साथीहरुलाई त्यस्तो लागेको होला । तर अहिले एकअर्काे मन्त्रालयसँग तालमेल गरेर एकताबद्ध भई काम गरिरहेका छौँ ।” 
 
नेपालमा लगानीको वातावरण बनेको छ 
 
मन्त्री यादवले नेपालमा लगानीको वातावरण बनेको स्पष्ट पारेका थिए । वैदेशिक तथा आन्तरिक लगानीको प्रवद्र्धनका लागि सरकारले आवश्यक ऐन, नियम तथा कानूनको प्रबन्ध गरेको र सोहीअनुसारको वातावरण बनाएको बताए  । 
वर्तमान सरकारले लगानी विस्तारका लागि हदैसम्मको प्रयास गरेको र त्यसको प्रतिफल केही समयपछि स्पष्टरूपमा देखिने उहाँको कथन थियो । निर्यातमूलक उद्योगको प्रवद्र्धन गर्न सरकार लागिपरेको जानकारी दिँदै उनले औद्योगिक क्रान्तिका लागि सबैको साथ र सहयोगसमेत जरुरी रहेको बताए । “आर्थिक समृद्धि सरकारका लागि मात्रै हुँदैन, सबै नेपालीका लागि हुन्छ, सबै राजनीतिक दलका लागि हुन्छ”, मन्त्री यादवले भने । राष्ट्रिय पूँजी प्रवद्र्धन गरी साना तथा घरेलु उद्योगलाई समेत थप प्रवद्र्धन गर्न सरकारले योजनाबद्ध प्रयास थालेको उनको कथन छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago