भर्खरै

पाल्पामा अझै आठ सय घरधुरी विद्युत विहिन

  • प्रकाशित मिति : Fri-21-Jun-2019
  • - Admin
title

पाल्पा, असार । पाल्पको रामपुर नगरपालिकाभित्रका आठ सयभन्दा बढी घरधुरीमा विद्युत सेवा पुग्न सकेको छैन । नगरका वडा नं १, २, ३, ४, ९ र १० का गरी ८ सय ३३ घरधुरी विद्युतको नपुगेको हो । 
नगरका ५, ६, ७ र ८ वडामा भने सबै घरधुरीमा भने विद्युत सुविधा पुगेको छ । 
नगरपालिका–१ मा सबैभन्दा बढी घर बिजुलीको पहुँच पुेको छैन । करीब सात सय घरधुरीमा बिजुली पुग्न सकेको छैन । नगरकै विकट र दुर्गममा रहेको यो वडाको पन्थे क्षेत्रमा ३० घरधुरीमा बिजुली पुगे पनि वडावासी अझै पनि अन्धकारमा जीवन बिताउन बाध्य छन् । 
     छम्के, पन्थे, फोक्सिङ्गकोट, बार्दाकोट, चिहानडाँडा, साखर्दी, मकैडाँडा, कुमैडाँडा, फुकलडाँडा, गजबन्दीलगायतका क्षेत्रमा विद्युतीकरण विस्तारको काम भइरहेको वडाध्यक्ष मित्रलाल कँडेलले बताए । यी क्षेत्रमा पहिलो प्राथमिकता दिएर विद्युतीकरणको काम सम्पन्न भएपछि अरू क्षेत्रमा विद्युतीकरणको प्रक्रिया अगाडि बढाउने योजना रहेको अध्यक्ष कँडेलको जानकारी दिए । 
   यस वडामा तीन वटा लघु जलविद्युत आयोजना निर्माण भएपनि हाल भने बार्दाकोट र छम्केमा दुई वटा मात्र लघु जलविद्युत आयोजना सञ्चालनमा छ । विद्युत् सेवाको सुविधा नहँुदा कामकाजमा समस्या परेको वडाका कर्मचारी तथा जनप्रतिनिधिको गुनासो छ ।
 त्यसैैगरी वडा नं २ को अत्रवास क्षेत्रका ४० घरधुरीमा विद्युत् सेवा पुगेको छैन । विद्युतीकरणका लागि काम भइरहेको वडाध्यक्ष ताराबहादुर थापाले बताए । घरघरमा वायरिङ र बिजुलीको पोल गाड्ने कामहरु सकिसकेको र पहिले बिजुली पुगेका गाउँमा पुराना पोल जीर्ण  काठका पोललाई विस्थापित गरी १३ वटा नयाँ पोलका लागि नगरपालिकामा माग गरिएको बताए । 
 
त्यस्तै वडा नं ३ को ओइरेघाट, सिनाह, तमलोकवारी क्षेत्रका करीब ६५ घरधुरीमा विद्युत् सेवा नपुगेको वडाध्यक्ष दिनेशकुमार खनालले जानकारी दिए । त्यस्तै वडा नं  ४ मा देविस्थानमा एक घरबाहेक वडाका सबै घरधुरीमा बिजुलीको सुविधा पुगेको वडाध्यक्ष एकबहादुर नेपालीले बताए । आर्थिक अवस्था न्यून भएकाले एक घरमा मात्र बिजुली नपुगेको र अब वडा कार्यालयले विद्युतीकरणका लागि सहयोग गर्ने नेपाली बताए । 
वडा नं  ९ का २५ घरधुरीका नागरिकले अझै पनि विद्युतको सेवा सुविधा उपभोग गर्न पाएका छैनन् । मन्छेलुङ्ग, लाम्दीखरक, जब्गादी मधुको लाम्दीखोलाका विद्युत सेवा नपुगेको वडाध्यक्ष इच्छराम सिञ्जालीले बताए । 
त्यस्तै वडा नं १० को मगरे गाउँका दुई घर परिवारबाहेक सबै घरधुरीमा बिजुलीको सुविधा पुगेको वडाध्यक्ष लीलबहादुर गाहाले बताए । आर्थिक अवस्था अत्यन्तै न्यून र अपायक स्थानमा घर रहेका कारण मगरे गाउँका मुक्तबहादुर कुँवर र जङ्गबहादुर आलेको घरमा बिजुलीको सेवा नपुगेको उनले बताए ।  वडा कार्यालयको यसै वर्षमा यी दुई घरमा पनि विद्युतीकरणका लागि सुविधा पु¥याउने योजना रहेको उनले जानकारी दिए ।
   
वडा नं ८ मा सबै वडाका घरमा विद्युत सेवा पुगे पनि पुरानो काठका पोलहरु जीर्ण अवस्थामा रहेकाले ७५ वटा पोल नगरपालिकामा माग गरिएको वडाध्यक्ष बोमबहादुर नामजालीले बताए ।
नगरप्रमुख रमणबहादुर थापाले आगामी दशैँसम्ममा विद्युत् सेवा नपुगेका नगरका सबैजसो घरमा बिजुली बाल्ने गरी काम धमाधम भइरहेको बताए । 
 
 
 

प्रतिक्रिया