भर्खरै

पाँचथरमा हावाबाट बिजुली, १ सय १० घरधुरीले रिचार्जबाट बत्ती बाल्छन्

  • प्रकाशित मिति : Wed-19-Jun-2019
  • - विद्युत संसार संवाददाता
title

पाँचथर ,असार । पाँचथरको मिक्लाजुङ गाँउपालिका–२ को सप्तमी बजार र वरपरका गाँउमा पछिल्लो समय बिजुली बत्ती बाल्नका लागि पनि मोबाइल फोनमा जस्तै रिचार्ज  चाहिने भएको छ । ‘रिर्चाज’ गरेर बिजुलीको बत्ती बाल्ने विषय भने अहिले नौलो हो । सो  गाँउका उपभोक्ताको हरेक घरमा मिटर बक्समा एउटा डिजिटल कार्ड राखिएको छ ।पैसा भए घरमा वत्ति बल्ने र पैसा सकिए घरमा बिजुली बत्ती आउँदैन ।  तर पैसा सकिन लाग्दा रातो सुचक बलेर संकेत गरेपछि कार्डलिएर उपभोक्ता वितरण कार्यालयमा गएर पैसा तिर्ने गर्दछन । कार्ड मिटरबक्समा ल्याएर जोडेपछि पुनः बिजुली बल्न थाल्छ । यहाँ १ सय १० घरधुरीका उपभोक्ताले यसरी बत्ती बालेका छन् ।
 
चिया उद्योग तथा अन्य व्यवसाय सञ्चालनमा पनि यसरी नै विद्युत उपभोग हुने गरेको छ । पैसा सकिन लाग्दा पुनः सुचारु गर्न पाईने, नसकिएमा अर्को महिनापनि बाल्न पाईने स्थानीय उपभोक्ता बताउँछन् । गत मंसिरबाट यसरी बालिएको बिजुलीको प्रतियुनिट सात रुपैंयाको दरले महसुल बुझाईरहेको स्थानीयहरुको भनाई छ । अर्को महत्वपूर्ण पक्ष यहाँ हावाबाट विजुली उत्पादन गरिएको छ । हावा र सोलार प्रणाली जडान गरी उत्पादन गरिएको विजुलीबाट स्थानीयहरु लाभान्वित भएका छन् । हावाबाट विजुली उत्पादन गरिएको यो नौलो अभ्यास हो । 
 
डाडामा हावाबाट विद्युत उत्पादन गर्ने मेसिन राखिएको छ । यहाँ बेजोडसँग हावा चल्ने गर्छ । हावाबाट तीन वर्ष लगाएर यो आयोजना पुरा गरिएको हो । ४ करोड ९४ लाख रुपँैया लागतमा विद्युत उत्पादन गरिएको हो ।सप्तमी सौर्य– वायु मिनिग्रिड परियोजना मार्फत ७० किलोवाट विद्युत उत्पादन भएको छ । यो मध्ये २० किलोवाट विजुली हावाबाट र ५० किलोवाट विजुली सौर्य उर्जाको माध्यमबाट उत्पादन हुन्छ । डाँडामा राखिएको वायु र सोलार प्रविधि यहाँ आउनेहरुको लागि पनि रोचक विषय बनेको छ । एडिबिको सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले यो परियोजना बनाएको हो । यहि बिजुलीमार्फत घरेलु उद्योगको विकास भएको छ् । १ सय रुपैँयादेखि माथि रकम तिरेर विजुली उपभोग गर्न पाईने बताइएको छ । सुरुमा रिचार्ज गरेर विजुली बाल्ने कुराले अलमल भएपनि अहिले सहज भएको स्थानिय उपभोक्ताहरु बताउँछन् । हावा र सोलारको माध्यमबाट उत्पादन भएको विजुली व्याट्रिमा जम्मा गराई वितरण गरिएको छ । 

प्रतिक्रिया