पुसभित्रै तल्लो मोदीखोलाको जलविद्युत उत्पादन हुने
- प्रकाशित मिति : Mon-25-Feb-2019
- - Admin
पर्वत, मंसिर। तल्लो मोदीखोला जलविद्युत आयोजनाबाट पुस मसान्तभित्रै विद्युत उत्पादन हुने भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको उक्त आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महिनामै विद्युत उत्पादन हुने भएको हो ।
६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा आयोजना निर्माणको काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो । आयोजनामा स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महिना ढिलाइ भएको हो ।
सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएकोले पुसभित्रै विद्युत उत्पादन शुरु गर्ने तयारी भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले बताए । अहिले उत्पादनगृह, सुरुङ र हेडबक्समा फिनिसिङको काम भइरहेको पनि उनले जानकारी दिए ।
सिभिलतर्फको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले पनि अधिकांश काम पूरा भएको जनाएको छ । रु.तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्ने भएको छ । आयोजनाको वार्षिक रु.११ करोड ७० लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इञ्जिनियरिङ लगायत निर्माणको ठेक्का मनाङ ट्रेडलिड्ढ र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेका छ ।
यसैबीच तल्लो मोदीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । आयोजनाको आइपिओ (प्रारम्भिक शेयर निष्काशन)सम्बन्धी कार्यका लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर समेत भईसकेको छ । कम्पनीका तर्फबाट सञ्चालक कुमुदकुमार दुगड तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौँले प्रतिसाधारण शेयर एक सय रुपैयाँ दरमा र. ४२ करोड रुपैयाँ बराबरको रु.४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।