एन आर एन लाई लगानी मैत्री गराउनु पर्छ

  • प्रकाशित मिति : Wed-22-Aug-2018
  • - डा.गोपाल पौड्याल
title

विदेशमा बसेर नाम दाम र सान कमाउन सफल नेपालीहरू स्वदेश मा ती सब गर्न किन सकेनन ? किन अवसर बाट सधै नेपाली लाई बन्चित गरिन्छ ? किन हरेक अवसर हरू छिमेकी हरूले मात्र पाउँछन् यो एउटा गम्भीर विषय बनेको छ ।
अर्थमन्त्रीको अर्थतन्त्रको नितिले देश बनोस भन्ने मेरो चाहना हो तर घर जग्गामा लगाएको लगामले अर्थतन्त्र डामाडोल हुने निश्चित प्राय छ । कि त मल्टी नेश्नल कम्पनीहरूलाई स्वागत गर्न सक्नु पर्यो । त्यस्को लागि पुर्वाधारहरू नै छैनन । घुस बेगर कुनै निकाय नै चल्दैनन । वैदेशिक व्यापारमा नेपाललाई दैनिक २ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ घाटा भइरहेको तथ्य विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । यसरी दिनहुँ व्यापार घाटा बढ्दै जानु र व्यापारले लगानीलाई विस्थापित गर्दै जाँदा आर्थिक वृद्धि गर्ने सम्भावनालाई क्षयीकरण गरेको छ । यसरी तीव्र रूपमा व्यापार घाटा बढ्दै जानु र पुँजी देशभित्र वस्तु वा सेवाको उत्पादनमा लगानी गर्नुभन्दा वस्तुको आयात व्यापारमा प्रोत्साहित हुनुमा विद्यमान विनिमय नीति जिम्मेवार छ । आयात व्यापारको ३५ प्रतिशत अनौपचारिक व्यापार भारतसँग हुन्छ । 
यसरी एउटै देशमा व्यापार निहित हुँदा र त्यसको भर पर्दा त्यो देशको अर्थतन्त्रको लाभ हानि पनि हामीलाई सोही रुपमा हुनु पर्ने हो तर त्यो कहिल्यै हुन सकेन । घाटा भए डबल घाटा हामीलाइ हुने र नाफा भए उसलाई मात्र हुने भएको हँुदा यो देशमा एन आर एन हरूलाइ स—सम्मान लगानीको वातावरण बनाउनु पर्छ । उनीहरू यदि नेपालमै बस्छु भन्छन भने तिनले किन्ने घर जग्गामा कर फ्री गर्दिनु पर्छ । तिनले किन्ने गाडीमा पनि कर फ्री गरिदिनु पर्छ र कम्तीमा पनि १० जनालाई रोजगारी दिनु पर्ने प्रावधान राख्दिनु पर्छ । टुरिजम नै यो देशको ढुकढुकी हो त्यसैले यसलाई प्रमोट गर्दै लानु पर्छ । अब यसरी भारत सँगको व्यापार पुरातन हिसाबले गर्ने हो भने हरेक साल भारतसँग व्यापार घाटा ८५ प्रतिशत भन्दा बढी छ । यति धेरै एउटै देशसँग व्यापार घाटा छ र त्यसै देशसँग विगत २२–२३ वर्षदेखि विनिमय दर निश्चित गरिएको छ । सामान्यतया दुई देशको मूल्यवृद्धिको अवस्था, आर्थिक वृद्धिको अवस्था र आयात–निर्यात व्यापारको अवस्थाले विदेशी विनिमय दर निर्धारण गर्छ । नेपाल–भारतबीच खुला सीमाना र निश्चित विनिमय दर भएको कारणले नेपाल र भारतको मूल्यवृद्धिको विगत २० र २२ वर्षको अवधिमा औसत रूपमा लगभग समान छ । अझ भनौं मूलत् नेपालको मूल्यवृद्धिको अवस्था भारतीय मूल्यवृद्धिको अवस्थाले निर्धारण गर्छ । नेपालको आर्थिक वृद्धिदर भारतको भन्दा निकै कम छ । 
त्यसैले चीन र बङ्गलादेश सँगको व्यापार बढाउँदै कृषि उत्पादन र पर्यटन क्षेत्रको विकाशमा जोड दिएर एन आर एन हरू सङ्ग को सहकार्य नै यो देशको मुहार फेर्ने एकमात्र आर्थिक उन्नतिको ब्रम्हास्त्र हुन सक्नेछ । नेपाली मारेर विदेशी पोश्ने नीति हटाइनु पर्छ र एन आर एन हरूलाइ छिटै घर भित्र्याउने मेलोमेसो मिलाउनु पर्छ । श्रमिक बेचेर रेमिटेन्स खाएर बस्ने चलनको अन्त्य नेपाल सरकारले छिटै गर्नुपर्दछ । पुर्वाधार र सुविधा दिने हो भने अर्बौ नेपाली नेपाल भित्रीने छ भने नेपाल सम्वृद्ध बन्ने छ । लेखकः एन.आर.एन बेलायतका सल्लाहकार हुनुहुन्छ ।

प्रतिक्रिया