त्रिशूली–काठमाडौं  प्रसारण लाइनको तार तान्ने काम सुरु

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

 

कार्तिक नुवाकोट । २२० केभी क्षमताको त्रिशूली–काठमाडौं प्रसारण लाइनका लागि तार तान्ने काम सुरु भएको छ । नुवाकोटको लिखुगाउँपालिका ३ सूर्यमती देखि चतुराले र धादिङको छत्रेदेउरालीमा ४ र ५ किमि क्षेत्रमा तार तान्ने काम सुरु भएको हो ।  
पहिलो चरणमा कात्तिक दोस्रो सातादेखि विद्युतीय तार विस्तारको कार्य थालेको  त्रिशूली ३ ए का आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए । ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) का चिनियाँ प्राविधिकहरूले कार्यक्षेत्रमा काम गरिरहेका छन् ।
  कम्पनीले सूर्यमतीको पाण्डेगाउँ, ककनीको लामागााउँ र धादिङको छत्रेदेउरालीमा उपकरणको सहायताले र प्राविधिकमार्फत काम भइरहेको छ । ०६८ फागुन १४ गतेदेखि २२० केभी प्रसारण लाइनले टावर गाँड्न फाउन्डेसन खन्ने कार्य थालेको थियो । आयोजना प्रमुख जोशीका अनुसार  १ सय ३५ वटा टावरको फाउन्डेसन कार्य सकिएको छ । माथिल्लो त्रिशूली ३ बी हबमा एउटा टावर अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।
२२० केभीको डबल सर्किट प्रसारण लाइनमा १ सय ४० वटा टावर पर्छन् । प्रसारण लाइन निर्माणमा स्थानीयवासीको अवरोध, मुआब्जा निर्धारणमा ढिलाइ र सामुदायिक वनक्षेत्रमा देखिएको समस्या समाधान गर्दै काम अघि बढेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनी सिडब्लुईले डिसेम्बर अन्तिम सम्म प्रसारण लाइन निर्माणको कार्य सक्नु पर्ने छ ।
 ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए आयोजनाले आगामी २०१९ फेबुअरी ९ मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन परीक्षण गर्ने जनाएको छ । 
त्यसअघि त्रिशूली–काठमाडौं प्रसारण लाइन पूरा गर्नुपर्ने बाध्यता छ । नुवाकोट र रसुवामा उत्पादित नौ सय मेगावाट बिजुली ४५ किमि टाढा रहेको काठमाडौं मातातीर्थमा जोडिएर केन्द्रीय प्रसारणमा जोडिने छ ।

प्रतिक्रिया