तल्लो हेवा आयोजनाको ९९ प्रतिशत निर्माण कार्य पूरा मंसिर दोस्रो साताबाट परीक्षण उत्पादन गर्ने  

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

कार्तिक, काठमाडौं । पाँचथरमा निर्माणाधीन २२.२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजनाको ९९ प्रतिशत निर्माण कार्य पुरा भए  सँगै आगामी मंसिरको दोस्रो साताबाट परीक्षण विद्युत उत्पादन सुरु गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले काबेली कोरिडोर प्रसारण लाइनको निर्माण सम्पन्न गर्न लागेकाले परीक्षण उत्पादन गर्न लागेको हो । 

माउन्टेन हाइड्रो नेपाल प्रालिका अध्यक्ष सीताराम तिमिल्सिनाका अनुसार परीक्षण पूरा गरेर मंसिर अन्तिम सातादेखि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु गरिने बताए ।  आयोजनाको सिभिल संरचना निर्माण तथा हाइड्रो र इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पूरा भएको र हाल स्वीचयार्डको काम भइरहेको  अध्यक्ष तिमिल्सिनाले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत फिदिमस्थित थापाटार सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरेको छ । हेवा खोलाको पानी फेमेको हेडवर्क्समा ल्याई विद्युतगृहमा पठाउन आयोजनामा २ वटा हेडवर्क्स निर्माण गरिएको छ । २१.६ मेगावाटमा डिजाइन गरिएको आयोजना ५ मिटर हेड बढाएर २२.२ मेगावाटमा निर्माण गरिएको हो । 
 आयोजनाबाट गत असोजमा विद्युत उत्पादन गर्ने तय भए पनि काबेली कोरिडोर प्रसारण लाइन तयार नहुँदा विद्युत उत्पादन अवधि  पछि सरेको हो । 
प्राइम बैंकको अगुवाइमा १२ बैंकको ऋण लगानीमा आयोजना निर्माण भएको हो । आयोजना सम्पन्न गर्न ४ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ । ३ अर्ब ११ करोड रुपैयाँ लागत अनुमान गरिए पनि आयोजनाको उत्पादन अवधि पछि धकेलिँदा २० करोड रुपैयाँ थपिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया