भर्खरै

रसुवागढी र साञ्जेनले शेयर बिक्री गर्दै

  • प्रकाशित मिति : Fri-02-Nov-2018
  • - Admin
title

काठमाडौँ, १५ कात्तिक । रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेका छन् । 

स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल रु एक अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् ।
 रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले रु एक अर्ब २६ करोड ३१ लाख पाँच हजार बराबरको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 
उनले भने, “स्थानीयवासीले आफूहरुलाई शेयर बिक्रीको समय पछाडि सारिदिन गरेको आग्रह नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएका छाँै । बोर्ड अनुमति दिने प्रक्रियामा छ ।” सो कम्पनीले रसुवावासीलाई रु ६८ करोड ४२ लाख १० हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । कूल ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी आवमा आयोजना निर्माण सक्ने जनाएको छ । 

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । स्थानीयवासीको मागका आधारमा आफ्नो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । सो कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सर्वसाधारणलाई रु ५४ करोड ७५ लाख तथा रसुवावासीलाई रु ३६ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । दुवै आयोजना आगामी आवभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 
 

प्रतिक्रिया