भर्खरै

म्याग्दीका विद्यालयमा ‘टेलिटिचिङ’

  • प्रकाशित मिति : Sun-07-Oct-2018
  • - Admin
title

म्याग्दी, २१ असोज ।म्याग्दीका अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । 

विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो । 

गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा १० माविमा इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गरिएको गाउँपालिकास्तरीय शिक्षक महासङ्घका अध्यक्ष रमन पुनले जानकारी दिनुभयो । 

अन्नपूर्णका विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । टेलिटिचिङ शुरु भएपछि विषयगत शिक्षक नभएको अवस्थामा अर्को विद्यालयका शिक्षकबाट पठनपाठनलाई निरन्तरता दिन सकिने ज्ञानप्रकाश मावि दानाका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो । 

विद्यार्थी, शिक्षक र विद्यालयबीच एक अर्कामा शिक्षण विधि र अनुभव आदानप्रदान हुने, कुनै समस्या आएमा तत्कालै छलफलको माध्यमबाट समाधान पनि गर्न सकिने ज्ञानप्रकाश माविका शिक्षक सन्तोष पौडेलले बताउनुभयो । सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा जडान गरिएको ताररहित इन्टरनेट उपयोग र गाउँपालिकाको सहयोगमा उपकरण खरिद गरेर टेलिटिचिङ शुरु गरिएको हो । 

नाङ्गीको हिमाञ्चल, हिस्तानको टिकोट, शिखको शिख, पाउद्धार, भुरुङको सर्वोदय, नारच्याङको प्रभा, दानाको ज्ञानप्रकाश, दोवाको कैलाश, रिमाको आदर्श मावि र घारको मुक्तिमार्ग माविमा टेलिटिचिङको परीक्षण सफल भएको छ । 

इन्टरनेटको माध्यमबाट प्रयोगमा ल्याइएको टेलिटिचिङलाई दिगो र निरन्तरता दिन स्थानीय सर्भर निर्माणको तयारी भएको हिमाञ्चल माविका शिक्षक किसान पुनले बताउनुभयो । सर्भर भएमा इन्टरनेट नभएको अवस्थामा पनि टेलिटिचिङ गर्न सकिने पुनले बताउनुभयो । ल्याप्टपमा वेभक्याम खोलेर टेलिटिचिङ गर्ने व्यवस्था मिलाइएको छ ।

टेलिटिचिङ सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले रु १० लाख विनियोजन गरेको थियो । अध्यक्ष पुनको सक्रियतामा समुदायस्तरबाट रु पाँच लाख ५० हजार सहयोग जुटाइएको थियो । 

टेलिटिचिङलाई प्रभावकारी र दिगो बनाउन इन्टरनेट र विद्युत् सेवालाई प्रभावकारी बनाउनुपर्ने ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो । रासस

प्रतिक्रिया