भर्खरै

सौर्य विद्युतमा स्थानीयवासीलाई २० करोड रुपैयाँको शेयर खुल्दै 

  • प्रकाशित मिति : Wed-12-Sep-2018
  • - Admin
title

दमौली, भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको पाँच मेगावाट क्षमताको सौर्य विद्युतमा स्थानीयवासीलाई शेयर दिइने भएको छ । नेपालमा नै पहिलो पटक सौर्य ऊर्जा परियोजनाका लागि सोलार फर्म प्रालिले स्थानीयवासीलाई रु २० करोडको शेयर वितरण गर्ने तयारी गरेको हो ।
 कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत शेयर रहने बताए । गैरआवासीय नेपालीलाई रु २० करोड तथा संस्थापकलाई रु १० करोडको शेयर उपलब्ध गराइने उनले जानकारी दिए । आयोजना निर्माणमा करीब रु ५० करोड लागत लाग्ने भएको छ । विद्युत उत्पादन गर्न २३ हजार प्यानल राखिने छ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत उत्पादन हुने प्रबन्धक आलेको भनाई रहेको थियो । कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी २०७६ साल भदौ महिना भित्र विद्युत उत्पादन गर्ने योजना रहेको बताए । कम्पनीले भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ । कम्पनीले क्याम्पसलाई वार्षिक रु १३ लाख भाडा तिर्ने छ । विद्युत खरीदका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइसकेको छ । सोलार विद्युत खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत सम्झौता भएको कम्पनीले जनाएको छ । सोलारबाट उत्पादित विद्युतलाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । 

प्रतिक्रिया